निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले जलविद्युत्मा लगानी बढाउने भएको छ । कम्पनीले ह्वाइट लोटस पावर लिमिटेडको साझेदारीमा जलविद्युत् र सोलार परियोजनामा लगानी गर्ने भएको हो । शिखरले ३० देखि १ सय सय मेगावाट क्षमताको नदी प्रवाही (आरओआर), अर्धजलासय (पीआरओआर) र जलासय (रिर्जभायर) परियोजनामा लगानी गर्न लागेको हो । यस्तै १० देखि ५० मेगावाटसम्म आयोजनामा लगानी गर्ने भएको छ ।
आर्थिक रूपमा आकर्षक परियोजनामा मात्र लगानी गर्न लागेको शिखरका नायव महाप्रवन्धक सुरज राजवहाकले जानकारी दिए । ऊर्जामा लगानी गर्न प्रस्ताव आह्वान गरेको उनले बताए ।
सोलार परियोजनाका लागि जग्गा खरिद गरिसकेको वा लामो अवधिका लागि लिजमा लिएको वा लिन मिल्ने अवस्था हुनुपर्ने शिखरले जनाएको छ ।
जलविद्युत् र सोलार परियोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको वा हुने सुनिश्चित भएको परियोजनालाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । यस्तै आयोजनाको उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको वा पाउने प्रक्रियामा गएको हुनुपर्नेछ ।
शिखरले निश्चित प्राविधिक मापदण्डमा पर्ने आयोजना भएका व्यक्ति वा संस्थालाई प्रस्ताव पेस गर्न १५ दिनको समय दिएको छ ।
शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ७० लाख रुपैयाँ नाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ खुदनाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १६.२९ रुपैयाँ रहेको छ । नेटवर्थ १९५.८१ रुपैयाँ रहेको छ । शिखरको चुक्ता पुँजी दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
यसअघि नेको इन्स्योरेन्स लिमिटेडले पनि जलविद्युत्मा लगानी गर्न प्रस्ताव आह्वान गरेको थियो ।


