Banijya News

जीवन बिमा कम्पनीहरूको नाफामा १६ प्रतिशलते गिरावट

1
1.3K Shares

गत आर्थिक वर्ष ०८१/८२ मा जीवन बिमा र निर्जीवन बिमा कम्पनीको खुद नाफा घटेको छ । जीवन बिमा कम्पनीहरूको १६ प्रतिशत र निर्जीवन बिमा कम्पनीहरूको २९ प्रतिशतले खुद नाफा घटेको हो । हाल नेपालमा १४–१४ वटा जीवन र निर्जीवन बिमा कम्पनी छन् । उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

आव ०८०/८१ मा १४ जीवन बिमा कम्पनीहरूको बिमांकीय मूल्यांकनअघिको खुद नाफा सात अर्ब १७ करोड ३५ लाख ६० हजार रुपैयाँ थियो । गत आव ०८१/८२ मा भने उनीहरूको यस्तो नाफा ६ अर्ब दुई करोड ४७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

बिमांकीय मूल्यांकनका क्रममा बिमा कोषबाट १० प्रतिशतसम्म रकम नाफा नोक्सान खातामा सार्न सकिन्छ । त्यो वेला जीवन बिमा कम्पनीको नाफा थप बढ्ने जानकारहरू बताउँछन् । तर, अघिल्लो आवको बिमाकीय मूल्यांकनअघिको नाफाकै तुलनामा गत आवको खुद नाफा घटेको हो ।

समीक्षा वर्षमा आठ जीवन बिमा कम्पनीको नाफा घट्दा ६ कम्पनीको भने बढेको छ । समीक्षा बर्षमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । गत आवमा उक्त कम्पनीले ६० करोड ३२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो स्थानमा भने आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा वर्षमा उक्त कम्पनीले ५८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ । तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५७ करोड एक लाख ९५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ५४ करोड ६९ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले ५४ करोड २४ लाख मेट लाइफ इन्स्योरेन्सले ४९ करोड २४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले ४२ करोड ५० लाख, नेसनल लाइफ इन्स्योरेन्सले ४१ करोड २८ लाख, एसियन लाइफ इन्स्योरेन्सले ४० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले ३७ करोड ७४ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड सात लाख, सूर्यज्योति इन्स्योरेन्सले ३५ करोड दुई लाख, एलआइसी नेपालले ३१ करोड ५८ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीले दुई करोड आठ रुपैयाँ नाफा कमाएको देखिन्छ ।

अघिल्लो आव ०८०/८१ मा १४ निर्जीवन बिमा कम्पनीले पाँच अर्ब ८५ करोड २९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । गत आव ०८१/८२ मा भने उनीहरूले चार अर्ब १६ करोड तीन लाख ११ हजार रुपैयाँ मात्रै नाफा कमाएका छन् । तथ्यांकअनुसार सात कम्पनीको नाफा बढेको छ । सात कम्पनीको नाफा घटेको छ ।

गत आवमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सले ५५ करोड आठ लाख २६ हजार र तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, शिखर इन्स्योरेन्सले ४५ करोड २७ लाख, राष्ट्रिय बिमा कम्पनीले ४२ करोड ७६ लाख सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड ३२ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ४९ लाख र सानिमा जिआइसी इन्स्योरेन्सले ३५ करोड तीन रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख, युनाइयटेड अजोड इन्स्योरेन्सले २१ करोड ६४ लाख, प्रभु इन्स्योरेन्सले २१ करोड १९ लाख, एनएलजी इन्स्योरेन्सले १६ करोड ११ लाख र दी ओरियन्टल इन्स्योरेन्सले आठ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, नेसनल इस्योरेन्स भने ६२ करोड ३९ लाख १२ हजार रुपैयाँले घाटामा देखिएको छ ।

1

Scroll to Top