Banijya News

निर्जीवन बीमा कम्पनीको लगानी ६६ अर्ब नाघ्यो, कुनको कति ?

1
1.4K Shares

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा करिब सवा ६६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ६६ अर्ब २३ करोड २५ लाख रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी भएको थियो। यसरी हेर्दा समीक्षा वर्षमा लगानी ०.४३ प्रतिशतले घटेको देखिन्छ।

सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाका मुद्दति निक्षेपमा छ। तथ्यांकअनुसार, बीमकहरूले ५१ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेका छन्, जसले कुल लगानीको ७७.४८ प्रतिशत ओगटेको छ। क वर्गका बैंकमा ४४ अर्ब ९४ करोड ७८ लाख, ख वर्गका बैंकमा ५ अर्ब २३ करोड ७१ लाख र ग वर्गका वित्तीय संस्थामा १ अर्ब १३ करोड २८ लाख रुपैयाँ निक्षेप गरिएको छ।

त्यसैगरी बीमकहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६० करोड ३६ लाख, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ४२ करोड १८ लाख, बैंक तथा वित्तीय संस्थाका अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ८९ करोड ९० लाख, सूचीकृत पब्लिक कम्पनीका बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ८८ करोड ७४ लाख, नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १ अर्ब ७ लाख, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २९ करोड ४३ लाख, अन्य संस्थापक शेयरमा २ अर्ब ६० करोड ८८ लाख र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन्।

बीमा कम्पनीहरूको लगानी कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, जलविद्युत, सौर्य ऊर्जा, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि पुगेको छ। यी क्षेत्रमा बीमकहरूले १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् भने अन्य क्षेत्रमा ९२ करोड २२ लाख रुपैयाँ प्रवाह गरेका छन्।

सबैभन्दा धेरै लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि रहेको छ। यस कम्पनीले ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ। दोस्रो ठूलो लगानीकर्ता राष्ट्रिय बीमा कम्पनी हो, जसले ७ अर्ब ७७ करोड १० लाख रुपैयाँ लगानी गरेको छ। तेस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, जसको लगानी ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

नेको इन्स्योरेन्सले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ लगानी गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी ५ अर्ब १५ करोड ६ लाख रुपैयाँ रहेको छ। शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड ८ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ३९ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै एनएलजी इन्स्योरेन्सको लगानी ३ अर्ब ८८ करोड २८ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ७६ करोड ७८ लाख र सानिमा जीआईसी इन्स्योरेन्सको ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ पुगेको छ। ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २४ करोड ११ लाख, नेसनल इन्स्योरेन्सले २ अर्ब ८९ करोड ६३ लाख र प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेका छन्।

1

Scroll to Top