Banijya News

जेनजी आन्दोलनमा भएको क्षतिको १० अर्ब बढी बिमा दाबी पर्न सक्ने

1
1.3K Shares

जेनजी आन्दोलनका क्रममा व्यावसायिक र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण बीमा कम्पनीहरूमा १० अर्ब रुपैयाँभन्दा बढीको दाबी पर्न सक्ने अनुमान गरिएको छ । काठमाडौंलगायत क्षेत्रमा रहेका भाटभटेनीका २१ ओटा स्टोर, हिल्टन होटेल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्क र थापाथली क्षेत्रमै रहेका हुन्डाई, सुजुकी र टाटा मोटर्सलगायत सवारीसाधन शोरुममा आगजनी भएको छ ।

त्यसैगरी, चौधरी ग्रूपको कारखाना, चन्द्रागिरि केबलकारको स्टेशनलगायत संरचनामा समेत क्षति पुगेको छ । उद्योगी–व्यवसायीका निजी घर तथा कर्पोरेट क्षेत्रका कैयौं भवनमा क्षति पुगेको बीमाक्षेत्रका अधिकारीहरूले बताएका छन् । उपत्यकाबाहिर पनि व्यापारिक र निजी सम्पत्तिमा क्षति पुगेकाले बीमा कम्पनीहरूमा पर्न सक्ने दाबीको परिमाण अझै उच्च हुने देखिएको छ ।

भाटभटेनीले आफ्ना सम्पत्ति आईजीआई, सलिको र सिद्धार्थ प्रिमियरलगायत इन्स्योरेन्स कम्पनीहरूमा बीमा गराएको छ । त्यस्तै, हिल्टन होटेलले दी ओरिएन्टल इन्स्योरेन्समार्फत बीमा गराएको छ । बीमा दाबी भुक्तानीका लागि बीमा गर्दा कबोल गरिएका सम्पत्ति र क्षतिको मूल्यांकनलाई आधार बनाइन्छ । आन्दोलनका कारण भएको क्षतिको दाबी हूलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत पर्छ । सम्पत्ति बीमा जारी गर्दा यो जोखिम समावेश गर्न अनिवार्य गरिएको भए पनि यसको पुनर्बीमा विदेशमा नभई नेपाल पुनर्बीमा कम्पनीमा मात्र गरिएको छ । यसकारण, नेपाल पुनर्बीमामाथि ठूलो वित्तीय भार पर्ने देखिएको छ ।

कम्पनीहरूले हूलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत ३५ प्रतिशत जोखिम आफूसँग राखेर बाँकी ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । नेपाल पुनर्बीमाले पनि विदेशी कम्पनीमा गराएको रिट्रोसेशन बाहेकको दायित्व वहन गर्नुपर्ने हुन्छ ।

ठूलो दाबी पर्न सक्ने देखिएपछि बिहीवार नेपाल बीमक संघको बैठक बसेको छ । स्रोतका अनुसार बैठकमा महाभूकम्पपछि २०७२ सालमा परेभन्दा बढी दाबी पर्न सक्ने र अधिकांश जोखिम नेपालमै रहेकाले चुनौतीपूर्ण हुन सक्नेबारे छलफल भएको छ । तर, संघले औपचारिक विज्ञप्तिमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको बताएको छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदी कम्पनीहरूबाट प्रारम्भिक जानकारी नआएसम्म दाबीको अनुमान गर्न कठिन हुने बताउँछन् । ‘तर, हामी सहज र छिटो दाबी भुक्तानी गर्न सहजीकरण गरिरहेका छौं,’ उनले भने । प्राधिकरणले बिहीवार नै बीमा कम्पनीहरूलाई क्षतिको दाबी यथाशीघ्र फर्छ्योट गर्न निर्देशन दिएको छ । साथै, क्षतिको बीमा दाबी र भुक्तानीको विवरण साप्ताहिक रूपमा प्रत्येक बुधवार पेश गर्नसमेत निर्देशन दिइएको छ ।

1

Scroll to Top