Banijya News

जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

1
1.2K Shares

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सवा २२ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले असोज ५ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी दर्ता भई २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको हो ।

सबैभन्दा बढी दाबी रकम ओरिएन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा परेका ७३ वटा दाबीको भुक्तानी ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ हुने देखिएको छ । दोस्रो धेरै दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसमा २७९ वटा दाबीको ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ क्षति दाबी भएको छ । तेस्रोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स परेको छ, जहाँ १७० वटा दाबीमार्फत २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ ।

त्यसैगरी शिखर इन्स्योरेन्समा ३७४ वटा दाबीमार्फत २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दाबीमार्फत १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबीमार्फत १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा २११ वटा दाबीमार्फत १ अर्ब ११ करोड ८३ लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति दाबी भएको छ ।

यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति दाबी भएको तथ्यांकमा उल्लेख छ ।

क्षेत्रगत हिसाबले हेर्दा सबैभन्दा धेरै दाबी सम्पत्ति बीमातर्फ परेको छ । यस क्षेत्रमा ५३८ वटा दाबी दर्ता भई १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति मागिएको छ, जुन कुल दाबीको ८३.६१ प्रतिशत हो ।

मोटर बीमातर्फ १ हजार ७७८ वटा दाबी दर्ता भई २ अर्ब ९५ करोड २६ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ १३२ वटा दाबी दर्ता भई ३३ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ ११ वटा दाबी दर्ता भई १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ १९ वटा दाबी दर्ता भई ३४ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी भएको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।

1

Scroll to Top