Banijya News

साना बिमा दाबी तिहार अघि नै भुक्तान हुने

1
1.3K Shares

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले साना प्रकृतिका बिमा दाबीहरू तिहारअघि नै भुक्तान गरिने जानकारी दिएका छन्।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बैदवारले बताए कि जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। तीमध्ये दाबी माग आएका साना बिमा दाबीहरू तिहारसम्म भुक्तान गरिने तयारी भइसकेको उनले जनाए।

‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ,’ बैदवारले भने, ‘यो सरकारी सम्पत्ति बाहेकको हो। निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०–२५ प्रतिशत मात्रै बिमाको दायरामा आएको छ।’ उनका अनुसार, यसमा दुई–तीन वटा ठूलो बिमा दाबी समावेश छन्। ती हटाउँदा १२–१३ प्रतिशत मात्रै दाबी बिमाको दायरामा परेको देखिन्छ।

जेनजी आन्दोलनका कारण क्षति पुगेका २४७८ वटा बिमा दाबी आवेदन आएको उनले बताए। यो नेपालकै इतिहासमा सबैभन्दा ठूलो बिमा दाबी हो। यसअघि २०१५ को भूकम्पका बेला करिब १७ अर्ब र गत सालको असोजमा काठमाडौं तथा काभ्रेको रोशी क्षेत्रमा आएको बाढीले करिब १३ अर्बको बिमा दाबी परेको थियो।

अध्यक्ष बैदवारका अनुसार, हाल आएका दाबीमध्ये १ हजार ७ सय साना प्रकृतिका छन्, जसको रकम अनुमानित ४०–५० लाख देखि २ करोडसम्म रहेको छ। अन्य दाबीहरू भने ठूलो प्रकृतिका रहेको उनले बताए।

साना दाबी भुक्तान प्रक्रिया सरल हुने र दिपावलीसम्म भुक्तान गरिने उनले स्पष्ट पारे। ‘हामीले यसको ड्राफ्ट प्राधिकरणमा पठाइसकेका छौं। साना दाबी भुक्तान गर्दा गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, ब्लुबुक र प्रहरीले दिएको जलेको लेटर आवश्यक पर्छ। ठूला प्रकृतिका दाबीमा अग्रिम भुक्तानी गरेर पुनरुत्थानमा सहयोग गर्छौं,’ बैदवारले बताए।

बिमा कम्पनीहरूको रिजर्भ बलियो भएकोले दाबी भुक्तान गर्न कुनै समस्या नहुने उनको भनाइ छ। ‘बिमा कम्पनीहरूको स्पेसल रिजर्भ २७–२८ अर्ब रुपैयाँ छ। यसैले दाबी भुक्तान गर्न सक्दैनन् कि भनेर आत्तिनुपर्ने अवस्था छैन। हाम्रो पछाडि पुनर्बिमा कम्पनीहरूको पनि साथ छ,’ बैदवारले जोड दिए।

यो तयारी र दाबी भुक्तानीले प्रभावित निजी क्षेत्रलाई राहत पुग्ने विश्वास गरिएको छ, र बिमा कम्पनीहरूले साना दाबी चाँडै भुक्तान गरी पुनरुत्थानको प्रक्रियामा सहयोग गर्ने बताएका छन्।

1

Scroll to Top