नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ । कम्पनीको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन पूरा गरी छनोट भएका एक सय २० जना अभिकर्ताहरूलाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम प्रदान गरिएको हो।
तालिम कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रको चर्चित उपाधि एमडिआरटी हासिल गर्ने लक्ष्य, रणनीति र व्यावहारिक उपायहरू विभिन्न उदाहरणसहित प्रस्तुत गरेका थिए। उनले पेशागत दक्षता, निरन्तरता र ग्राहक विश्वासको महत्वबारे अभिकर्ताहरूलाई प्रशिक्षण दिए। कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि कम्पनीले नियमित रूपमा विभिन्न तालिम तथा प्रोत्साहनमूलक योजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै त्यसैको निरन्तरताका रूपमा “मन्थन २०८२” लागू गरिएको जानकारी दिए।
त्यस अवसरमा कोशी प्रदेशअन्तर्गत विभिन्न शाखामा उत्कृष्ट कार्यसम्पादन गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गर्दै सम्मान गरेकी थिइन्। तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रत्यक्ष प्रशिक्षण पाउने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरे। सम्मानित अभिकर्ताहरूले पनि यसले आफ्नो मेहनतको कदर भएको महसुस गराउँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्।


