Banijya News

स्वास्थ्य बिमा योजना नरोकिने मन्त्री गौतमको तर्क

1
1.1K Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताएकी छिन । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम प्रभावित हुन सक्ने भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको दाबी गर्दै उनले भ्रममा नपर्न आग्रह गरिन ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको मङ्गलबार अनुगमन तथा अवलोकनका क्रममा मन्त्री गौतमले बाहिर चर्चा भएजस्तो कार्यक्रम नै रोकिने अवस्था नरहेको प्रष्ट पारिन। उनले भनिन्, “बिमा कार्यक्रम सञ्चालनका क्रममा देखिएका केही बेथिति हटाउने र आवश्यक आर्थिक स्रोत पहिचान गर्ने कार्य भइरहेको छ, त्यसैले यो समस्या छिट्टै समाधान हुन्छ ।’’

स्वास्थ्य करबापत सङ्कलित रकमलाई सरकारले स्वास्थ्य बिमा कोषमा परिचालन गरे मात्र पनि विद्यमान आर्थिक चुनौती सहजै टर्ने उनको तर्क थियो । यद्यपि, स्रोत व्यवस्थापनमा केही चाप भने रहेको उनले स्वीकार गरिन। मन्त्री गौतमले मुलुककै एक मात्र श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत अस्पताल तनहुँमा रहनु गौरवको विषय भएको उल्लेख गर्दै यसको भौतिक र प्राविधिक विकासमा सरकार गम्भीर रहेको बताइन। अस्पताललाई बिरामीको भरोसायोग्य केन्द्र बनाउन आग्रह गर्दै उनले भारत सरकारबाट प्राप्त हुने भनिएको सहयोगलाई छिटो ल्याउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिइन ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक एवम् अस्पताल विकास समितिका अध्यक्ष डा.केशर ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा र अस्पतालका निर्देशक डा. रामकुमार श्रेष्ठले अस्पतालको दिगो विकास र समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिएका थिए ।

1

Scroll to Top