नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको आन्तरिक सुरक्षा प्रणालीलाई मजबुत बनाउन र सम्भावित जोखिमहरूलाई समयमै पहिचान गर्न ‘बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९’ लाई परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसै सन्दर्भमा सरोकारवालाहरूबाट आवश्यक सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा बढ्दै गएका विविध जोखिमहरूलाई न्यूनीकरण गर्न आन्तरिक लेखापरीक्षणको भूमिका प्रमुख हुने उल्लेख गरे । उनले बीमा कम्पनीहरूभित्रको लेखापरीक्षण प्रणालीलाई अझ बढी व्यवस्थित, व्यावसायिक र परिष्कृत बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । “हामीले निर्देशिकालाई समयसापेक्ष बनाउन खोजिरहेका छौँ, यस प्रक्रियामा विद्यमान कमजोरीहरू हटाउन र नयाँ व्यवस्था थप गर्न सबै पक्षको रचनात्मक रायको अपेक्षा गरेका छौँ,” सुवेदीले भने ।
अन्तरक्रियाका क्रममा प्राधिकरणका सहायक निर्देशक गोकुल राज दाहालले परिमार्जन गर्न लागिएको निर्देशिकाको मस्यौदामा समेटिएका नयाँ प्रस्तावहरूका बारेमा विस्तृत प्रस्तुतीकरण गरेका थिए । सो क्रममा सहभागी बीमकका आन्तरिक लेखापरीक्षण शाखा प्रमुख तथा लेखापरीक्षकहरूले मस्यौदामा उल्लेखित विभिन्न प्राविधिक पक्षहरूमा आफ्ना धारणा राखेका थिए। विशेषगरी जोखिमको श्रेणीकरण , शाखा लेखापरीक्षणको दायरा , नमुना छनोटको आकार , आन्तरिक लेखापरीक्षणको कार्यविधि र प्रतिवेदन पेश गर्ने आवश्यकताहरू जस्ता महत्वपूर्ण विषयमा गहन छलफल भएको थियो।
कार्यक्रमको समापनमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले सहभागीहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई ध्यानपूर्वक अध्ययन गरी निर्देशिकाको अन्तिम मस्यौदामा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्राधिकरणका निर्देशकद्वय पुजन ढुङ्गेल अधिकारी र शाम्भ राज लामिछाने लगायत विभिन्न बीमा कम्पनीका आन्तरिक लेखापरीक्षण विभागका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। यस परिमार्जित निर्देशिका लागू भएपछि बीमा कम्पनीहरूको वित्तीय पारदर्शिता र संस्थागत सुशासनमा थप सुधार आउने विश्वास प्राधिकरणले लिएको छ।


