Banijya News

नक्कली उद्धार प्रकरणः ३३ जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुने

1
1.0K Shares

पर्वतारोहणका क्रममा पर्यटक बिरामी परेको झूटो विवरण बनाएर नक्कली उद्धार गरी रकम घोटाला गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यही क्रममा नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा जोडिएका ३३ जनामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ चरणको अनुसन्धान सुरु गरेको छ ।

पर्वतारोहणका क्रममा पर्यटक बिरामी भएको झूटो विवरण बनाई बीमा दाबी गरिएको घटनाले अब आर्थिक अपराधको कोणबाट पनि अनुसन्धान सुरु भएको हो । सीआईबीका अनुसार, पहिलो चरणमा संगठित रूपमा राष्ट्रहितविपरीत काम गरेको आरोपमा अनुसन्धान गरी मुद्दा अदालतसम्म पुगेको थियो । सोही फाइललाई आधार बनाएर दोस्रो चरणमा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत विस्तृत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा प्रारम्भमा सिआइबीले ३३ जनाविरूद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा सिफारिस गरेको थियो।  तर, सरकारी वकिलको कार्यालय काठमाडौंले ३२ जनालाई मात्र प्रतिवादी बनाएर मुद्दा चलाउने निर्णय गरी चैत ८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यसमा संलग्न रहेका हवाई विज्ञ राजेन्द्रबहादुर सिंहविरूद्ध भने मुद्दा दर्ता गरिएको थिएन। पछि  वैशाख ८ गते हवाई विज्ञका रूपमा रहेका राजेन्द्रबहादुर सिंहविरूद्ध पनि मुद्दा दर्ता गरियो।

सरकारी वकिलको कार्यालय काठमाडौंले सिंहविरूद्ध मुद्दा नचलाउने निर्णय गर्दा कुनै कारण देखाएको थिएन। बरू मुद्दा चलाउन आवश्यक नभएको मात्र उल्लेख गरिएको थियो। महान्यायाधिवक्ता नारायणदत्त कँडेलको निर्देशनमा उनीमाथि अभियोजन गर्न निर्देशन भएपछि पुनः फाइल खोलेर अभियोजन अघि बढेको थियो।

उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले चैत ८ गते भएको मुद्दा नचलाउने निर्णय बदर गरेका थिए।सिंहले फेक रेस्क्यू प्रकरणमा तथ्य, प्रमाण लुकाउन र सिआइबीकै अनुसन्धानलाई प्रभाव पार्न खोजेको आरोप छ।

अन्य प्रतिवादीहरूले भने फेक रेस्क्यू गर्नमा विभिन्न भूमिका खेलेको सिआइबीको अनुसन्धानमा देखिएको हो। सिंहविरूद्ध मुद्दा दर्ता भएपछि अदालतबाट म्याद जारी नहुँदै उनी उपस्थित भएको स्रोतले बतायो। पछि सिंहलाई २ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो। जसले अनुसन्धान प्रक्रियामा थप विवाद र पुनः मूल्यांकनको अवस्था सिर्जना गरेको देखिन्छ ।

यस प्रकरणमा अदालतले पहिलो चरणमै केही प्रतिवादीलाई धरौटीमा रिहा गरेको थियो भने केही फरार रहेको विवरण पनि छ । एभरेस्ट एक्सपेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारीलाई जनही ३० लाख रूपैयाँ धरौटीमा छाडिएको थियो। त्यस्तै, श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना, माउन्टेन रेस्क्यूका म्यानेजर विवेक पाण्डे, पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पिडिसनका सञ्चालक पासाङ शेर्पालाई जनही ५ लाखमा छाड्न आदेश भएको थियो।

यसैगरी, रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दिप तिवारी र खोमराज अधिकारीलाई जनही ५ लाख र नेपाल चार्टर्ड सर्भिसका अपरेसन म्यानेजर विवेकराज थपलियालाई एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

सीआईबीको अनुसन्धान अनुसार नक्कली उद्धार, बीमा दाबी र रकम प्रवाहमा विभिन्न ट्रेकिङ, उद्धार कम्पनी तथा स्वास्थ्य संस्थाहरूको संलग्नता देखिएको छ । सीआईबीले अबको अनुसन्धानमा अवैध आम्दानीको स्रोत, रकमको प्रवाह र त्यसलाई वैध बनाउने प्रयासमाथि केन्द्रित गर्ने जनाएको छ । यसले यो प्रकरणलाई केवल ‘नक्कली उद्धार प्रकरण मात्र नभई संगठित आर्थिक अपराध र अन्तर्राष्ट्रिय बीमा प्रणाली दुरुपयोगको मुद्दाका रूपमा अगाडि बढाएको छ ।

1

Scroll to Top