आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी उक्त आर्थिक सहयोग गरेको हो ।
उक्त कार्यक्रमका लागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा राखिएको छ ।
माट्रिका आइ सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव सिर्जना हुने अपेक्षा गरिएको छ ।
आईएमई लाइफका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्दै आएको बताए । यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामिण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए ।


