फौजदारी अभियोगमा मुद्दा दर्ता भइसकेका बीमा कम्पनीका सीईओ तथा कर्मचारीहरु स्वतः निलम्बन हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ । नेपालकै ठूलो बीमा क्षेत्रको घोटाला काण्डमा फौजदारी अभियोग लागेका विभिन्न बीमा कम्पनीका सिईओ तथा सञ्चालकहरुलाई प्राधिकरणले निलम्बन गरेपछि अन्योलको अवस्था हटेको हो ।
प्राधिकरणले आज पत्र पठाउँदै सम्बन्धित बीमा कम्पनी वा सीईओ विरुद्ध सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग) निवारण ऐन, २०६४ तथा विदेशी विनिमय ऐन, २०१९ अन्तर्गतको कसूरमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएकाले सम्बन्धित कम्पनीका सीईओ तथा कर्मचारीहरु निलम्बन हुने प्रष्ट पारेको हो । प्राधिकरणका उप निर्देशक विरोध भट्टका अनुसार, सम्बन्धित सीइओ तथा कर्मचारीहरु सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम निलम्बन भएका हुन् । अब औपचारिक रुपमा कामु सिईओको जिम्मेवारी तोक्ने बाटो खुलेको छ ।
फौजदारी अभियोग लागेका, फरार सूचीमा समावेश भएका र सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गरेका व्यक्तिहरु प्नि कार्यालयमा उपस्थित भएर काम गरिरहेको पाइएकाले प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
फौजदारी अभियोग लागेका सीईओहरुमा बीमा कसुरमा गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारी, हिमालयन रि–इन्स्योरेन्सका सीईओ उपासना पौडेल, हिमालयन लाइफका कपिल दाहाल, नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र रिमाल रहेका छन् । त्यस्तै, धितोपत्र कसुरमा क्रेष्ट माइक्रो लाइफका प्रतापमान सिंह, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेश रोक्का र लिबर्टी माइक्रो इन्स्योरेन्सका राम यादव रहेका छन् । साथै, नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापा पनि सम्पत्ति शुद्धीकरणको मुद्दाले स्वतः निलम्बनमा परेका छन् ।
बीमा ऐनमा फौजदारी अभियोग पुष्टी भई सजाय तथा जरिवना भुक्तान भएको पाँच वर्षसम्म कुनै पनि बीमा कम्पनीहरुमा काम गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । र, हाल प्रहरीले गरेको छानबिनपछि अभियोजन गरिएकाहरुमाथि फौजदारी अभियोग पुष्टी हुँदैन भन्ने पर्याप्त आधार र कारणसमेत नभएकोले उनीहरु कार्यालयमा उपस्थित भएर काम गर्न नमिल्ने अवस्था छ ।
बीमा ऐनमा स्पष्ट व्यवस्था हुँदाहँुदै पनि केही सिईओहरुले काममा फर्कने प्रयास गरेका थिए । बीमा प्राधिकरणले पत्र नै पठाएर निलम्बनमा परेको सूचना दिएसँगै अब तत्कालै सञ्चालक समितिको बैठक बसेर कामु सिईओको जिम्मेवारी तोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।


