वासिङ्टन। कोभिड-१९ बाट थलिएका अमेरिकी लोक गायक जोन प्राइनको निधन भएको छ। उनी ७३ वर्षका थिए।
कोभिड-१९ को लक्षण देखिएपछि उनलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो। गत शनिबार रातिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
अमेरिकाको नेसनल पब्लिक रेडियोको अनलाइन संस्करणका अनुसार कोभिड-१९ पोजिटिभ देखिएकी उनकी पत्नी भने ठीक भइसकेकी छन्।
मंगलबार अमेरिकामा उक्त रोगका कारण एक हजार आठ सय जनाले ज्यान गुमाए। अमेरिकामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या करिब १३ हजार पुगेको छ। यस्तै, कुल संक्रमित संख्या तीन लाख ९८ हजार पुगेको छ।


