काठमाडौँ – उत्तरी सिक्किमको भारत र चीन सिमानामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा दुवै तर्फका केही जवान सामान्य घाइते भएका छन् ।
झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
हिजो (शनिबार) भएको झडपमा परी घाइते भएका दुबै देशका सेनालाई सामान्य चोट लागेको जनाइएको छ । नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झडप भएको हो ।
अहिले स्थानीयस्तरमै छलफल गरी समस्या हल गरिएको बताइए पनि यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन् । भारत र चीनको सीमा विवादलाई लिएर त्यहाँ यसप्रकारका घटना हुँदै आएका छन् ।
गएको वर्ष लद्दाखमा पनि गस्तीका क्रममा दुई देशका सैनिकबीच झडप भएको थियो । त्यस्तै सन् २०१७ मा पनि यसै स्थानमा दुवै पक्षका सेनाबीच झडप भएको थियो ।


