शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपाल लगायतका थुप्रै स्थानमा विरोध भयो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।
विरोध बढदै जाँदा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’
विदेश मन्त्री एस. जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । उनले यो कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण पनि दिइएको छ ।


