विदेश भ्रमणमा जाने नेपालीलाई कुनै देशले भिसा प्रयोजनका लागि विदेशी मुद्रामा धरौटी (फिर्ता हुने) माग गरेमा नेपाल राष्ट्र बैंकले तोकेको सर्तमा रहेर इलेक्ट्रोनिक कार्ड जारी गरी सटही सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ । यो सुविधा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरूबाट मात्रै पाइन्छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै यसका लागि ५ सर्त थपेको हो ।
आवेदकले सम्बन्धित देशको भिसा प्रदान गर्ने निकाय वा संस्थाले भिसा प्रयोजनका लागि धरौटी माग गरेको पुष्टि हुने प्रमाणित कागजातसहितको निवेदन पेस गर्नुपर्नेछ। अमेरिकी डलर पाँच हजारभन्दा बढीको परिवर्त्य विदेशी मुद्रा माग गर्ने आवेदकको आफ्नै स्थायी लेखा नम्बर (पान) हुनुपर्नेछ भने आवेदकको पान नभएको खण्डमा नाता प्रमाणित हुने कागजातसहित निजको एकाघर परिवारको सदस्यको पान लिनुपर्ने व्यवस्था छ।
आवेदकको बैंक तथा वित्तीय संस्थामा रहेको नेपाली रुपैयाँको खाता खर्च गरी प्रचलित विनिमयदर अनुसार हुन आउने मागबमोजिमको परिवर्त्य विदेशी मुद्रा बराबरको धरौटी रकम आवेदकको विदेशी मुद्राको खातामा जम्मा गर्नुपर्नेछ र उक्त खाताबाट धरौटी भुक्तानीका लागि इलेक्ट्रोनिक कार्ड जारी गर्नुपर्नेछ।
धरौटी रकम फिर्ता हुँदा अनिवार्य रूपमा आवेदकको विदेशी मुद्राको खातामै फिर्ता हुनुपर्नेछ र यसरी रकम फिर्ता हुनासाथ सो बराबरको प्रचलित विनिमयदरले हुने नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिको खातामा तत्काल जम्मा गर्नुपर्नेछ। साथै, धरौटी रकम भुक्तानी भएका आवेदकहरूको भिसा प्राप्त भए वा नभएको तथा धरौटी रकम फिर्ता भएरनभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नुपर्नेछ।


