नेपालकी छोरी स्नेहा रुपाखेती अमेरिकाको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रिम यूएसए २०२६’ को फाइनलमा प्रवेश गर्न सफल भएकी छन् । उनी यस प्रतियोगिताको फाइनलसम्म पुग्ने एकमात्र नेपाली मूलकी प्रतिस्पर्धी बनेकी छन् ।
हाल अमेरिकाको टेक्सस राज्यस्थित टेक्सस स्टेट युनिभर्सिटीमा स्नातक तहको चौथो सेमेस्टरमा अध्ययनरत रुपाखेतीले ‘मिस सुप्रिम अष्टिन’ को उपाधि जित्दै राष्ट्रियस्तरको अन्तिम प्रतिस्पर्धामा स्थान सुरक्षित गरेकी हुन् ।
प्रतियोगिताको अन्तिम चरण आगामी मे १४ देखि १६ सम्म अमेरिकाको ह्यूस्टन सहरमा आयोजना हुनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मे १६ मा बीटीसी क्रिएटिभ स्पेसमा हुने कार्यक्रम रहेको छ ।
यसअघि पनि स्नेहाले अमेरिकामा नेपाली समुदायबीच लोकप्रिय ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को फाइनलमा आफ्नो प्रभावशाली उपस्थिति जनाइसकेकी थिइन् । यसपटक भने उनले अमेरिकी राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने अवसर पाएकी छन् ।
स्नेहाले प्रतियोगितालाई केवल ताज जित्ने माध्यमका रूपमा नभई सामाजिक मुद्दा उठाउने प्लेटफर्मका रूपमा प्रयोग गर्ने बताएकी छन् । विशेषगरी धादिङ र चितवनका विकट क्षेत्रमा रहेका चेपाङ समुदाय, श्रमिक बालबालिका तथा शिक्षाबाट वञ्चित समूहको आवाज विश्वमञ्चसम्म पु¥याउने आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरेकी छन् ।
नेपालको धादिङ जिल्लाकी उनले धादिङकै जनजागृति माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेकी थिइन् । स्नेहाले बाल्यकालदेखि देखेका विपन्न बालबालिकाको अवस्था सुधार गर्न र उनीहरूलाई ठूलो सपना देख्न प्रेरित गर्ने लक्ष्य लिएको बताएकी छन् ।
उनले जलवायु परिवर्तन र त्यसले नेपालजस्ता विकासशील मुलुकमा पारेको असरलाई पनि आफ्नो मुख्य एजेन्डाका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रयास गर्नेछिन् ।


