पछिल्लो समयमा विदेशी पर्यटकहरुका लागि नेपाल रोजाइमा पर्न थालेको छ । पछिल्लो महिनाको विवरण हेर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि देखिएको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२६ को मे महिनामा कुल १ लाख २ हजार ६ सय २६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष सन् २०२५ को मे महिनाको तुलनामा १९ प्रतिशतले बढी हो । यो पर्यटन आगमन दर कोभिड–१९ पूर्वको सामान्य वर्ष सन् २०१९ को सोही महिनाको तुलनामा ३१ प्रतिशतले बढी हो । सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ पर्यटक आएकोमा अहिलेको तथ्यांकले १३१ प्रतिशत रहेको देखाएको छ ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये छिमेकी मुलुक भारतको हिस्सा सबैभन्दा ठुलो छ । मे महिनामा भारतबाट मात्रै ४० हजार ७ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको झन्डै ४० प्रतिशत हो ।
यसपछि दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट ११ हजार ५ सय १४ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ, जहाँबाट ९ हजार १ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।
यसैगरी दक्षिण एसियाली मुलुक बंगलादेशबाट ५ हजार २ सय ९८ पर्यटक आएका छन् । पर्यटक आएका अन्य मुख्य देशहरूमा संयुक्त अधिराज्य रहेको छ, जहाँबाट ३ हजार ३ सय ७५ नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, अष्ट्रेलियाबाट २ हजार ८ सय ७०, मलेसियाबाट २ हजार ८ सय ५७), जापानबाट १ हजार ७ सय ५६, रुसबाट १ हजार ५ सय ५० र जर्मनीबाट १ हजार ५ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
क्षेत्रीय आधारमा हेर्ने हो भने दक्षिण एसियाली (सार्क) क्षेत्र नेपालको पर्यटनका लागि मेरुदण्ड साबित भएको छ । कुल पर्यटकमध्ये ४७.२ प्रतिशत अर्थात् ४८ हजार ४ सय ६१ जना सार्क मुलुकहरूबाट आएका छन् । सार्क क्षेत्रपछिको ठुलो हिस्सा एसियाका अन्य मुलुकहरूको रहेको छ । जहाँबाट १९.९ प्रतिशत (२०,४६२ जना) पर्यटक आएका छन् ।
युरोपेली मुलुकहरूबाट १३.१ प्रतिशत (१३,४४० जना) र अमेरिका महादेशबाट १०.३ प्रतिशत (१०,६१८ जना) पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसबाहेक ओसेनियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटकको आगमन भएको छ । गत वर्षको तुलनामा सार्क क्षेत्रबाट हुने आगमनमा ३३.५ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।


