अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको इतिहास रचेका छन् । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाविरुद्ध टोलीका लागि सुरुआती गोल गर्दै ३८ वर्षीय मेस्सीले यो कीर्तिमान कायम गरेका हुन् । आफ्नो छैटौं विश्वकप खेलिरहेका मेस्सीको विश्वकपमा गोल संख्या १८ पुगेको छ ।
खेलको ३८औं र इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल गर्दै उनी पुरुष र महिला दुवै विश्वकपको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् । उनले ब्राजिलकी महान् महिला खेलाडी मार्ताको १७ गोलको कीर्तिमानलाई पछि पारेका छन् ।
यसअघि गत साता अल्जेरियाविरुद्ध ३–० को जित निकाल्ने क्रममा ह्याट्रिक गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए । अस्ट्रियाविरुद्धको खेलमा मेस्सीले सुरुवाती समयमा पेनाल्टी भने चुकाएका थिए ।
सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेस्सीले देशका लागि २०१ खेल खेल्दै १२१ गोल गरिसकेका छन् । उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन् । मेस्सीको यो उत्कृष्ट लयसँगै सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपना अझ बलियो बनेको छ ।
व्यक्तिगत चोट र पारिवारिक समस्याका बाबजुद मेस्सीको उपस्थिति टोलीका लागि सधैँ ऊर्जादायी बन्ने गरेको छ । मेस्सीका बुबा हाल अस्वस्थ रहेको र उनको उपचार भइरहेको बुझिएको छ । ह्यामिस्ट्रिङको समस्याका बाबजुद मैदान उत्रिएका मेस्सीबारे मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले भने– यदि कसैलाई लियोबिना यो टोली राम्रो छ भन्ने लाग्छ भने, आज प्रस्ट भयो कि लियो नै हाम्रा लागि सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् ।
विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) दोस्रो, ब्राजिलका रोनाल्डो (१५ गोल) तेस्रो तथा पश्चिम जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पे (१४–१४ गोल) चौथो स्थानमा छन् । अस्ट्रियामाथिको जितसँगै अर्जेन्टिना अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।


