Banijya News

फिफा विश्वकपको नकआउटमा ब्राजिल र जापान भिड्दै, कसले बाजी मार्ला ?

1
1.0K Shares

फिफा विश्वकप २०२६ को आज हुने नकआउट चरणको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र एसियाली फुटबलको शक्तिशाली टोली जापानबीच प्रतिष्पर्धा हुँदैछ । अमेरिकाको ह्युस्टन स्टेडियममा नेपाली समयअनुसार राती पौने ११ बजे सुरु हुने राउन्ड अफ ३२ को यस खेललाई ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा टोलीको पहिलो वास्तविक परीक्षा मानिएको छ ।

ब्राजिल समूह ‘सी’को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो । सुरुआती खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिलले त्यसपछि हाइटी र स्कटल्यान्डलाई समान ३–० गोलअन्तरले पराजित गर्दै सात अंकसहित शीर्ष स्थानमा पुगेको थियो । प्रतियोगिताभर ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले चार गोल गरेका छन् भने माथेउस कुञाले तीन गोल गरेका छन् ।

उता, जापानले पनि प्रभावशाली प्रदर्शन गर्दै समूह ‘एफ’बाट उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाएको हो । जापानले नेदरल्यान्ड्ससँग २–२ र स्विडेनसँग १–१ को बराबरी खेलेको थियो भने ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो । जापानका आयासे उएदा र दाइची कामादाले समान दुई–दुई गोल गर्दै टोलीको आक्रमणलाई बलियो बनाएका छन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एन्सेलोटीले जापानलाई विश्वकै उत्कृष्ट टोलीमध्ये एक भन्दै आफ्नो टोली मानसिक रूपमा पूर्ण तयारीमा रहेको बताए । उनका अनुसार नकआउट चरणमा कुनै पनि क्षण खेलको दिशा बदलिन सक्ने भएकाले खेलाडीहरू मानसिक, शारीरिक र रणनीतिक रूपमा तयार हुन आवश्यक छ । उनले ब्राजिल विश्व उपाधिको दाबेदार भए पनि जापानलाई कमजोर आँक्न नहुने स्पष्ट पारेका छन् ।

यसैगरी, जापानका मुख्य प्रशिक्षक हाजिमे मोरियासुले पनि आफ्नो टोलीको एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् । उनले प्रत्येक खेलाडी टोलीका लागि योगदान दिन प्रतिबद्ध रहेको र त्यसैले जापानले फेरि एकपटक ठूलो टोलीलाई चुनौती दिन सक्ने विश्वास व्यक्त गरेका छन् ।

दुवै टोलीबीचको विगतको इतिहास हेर्दा ब्राजिल बलियो देखिन्छ । अहिलेसम्म भएका १४ भेटमध्ये ब्राजिलले ११ खेल जितेको छ, दुई खेल बराबरीमा सकिएका छन् भने जापानले केवल एक खेल जितेको छ । तर, त्यो एक मात्र जित पनि सबैभन्दा पछिल्लो भेटमा आएको थियो । जब सन् २०२५ को मैत्रीपूर्ण खेलमा जापानले दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ब्राजिललाई ३–२ ले हराएको थियो । यसले गर्दा पनि जापान ब्राजिलसँग बदला लिने लक्ष्यसहित मैदानमा उत्रिने अपेक्षा गरिएको छ ।

यस खेलको विजेताले अन्तिम १६ मा नर्वे र आइभोरी कोस्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

1

Scroll to Top