‘प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार’ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर, भारतको तमिलनाडु राज्य सरकारले यस्तै लोकप्रिय कार्यक्रम घोषणा गरेको छ ।
तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले ‘थाइमामन थङ्गा मोथिरा थिट्टम’ (मामाको सुनको औंठी योजना) अन्तर्गत यो लोकप्रिय कार्यक्रम सार्वजनिक गरेको हो । यसअन्तर्गत तलिमनाडु राज्यका सरकारी अस्पतालहरूमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिइने छ ।
तमिल संस्कृतिमा नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने ‘थाइमामन सिर’ परम्परा रहेको छ । सोही सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै अब सरकारले नै राज्यका प्रत्येक शिशुको ‘मामा’को भूमिका निभाउँदै सुनको औंठी उपहार दिन लागेको सरकारी विज्ञप्तिमा उल्लेख छ ।
तमिलनाडु सरकारका अनुसार, यस योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढाउनु, मातृ तथा शिशु कल्याणलाई प्रवद्र्धन गर्नु र मातृत्वको गौरवलाई उत्सवका रूपमा मनाउनु रहेको छ ।
यस योजनाका लागि सरकारले वार्षिक ७५५.८३ करोड भारु बजेट छुट्याएको छ । यो योजना औपचारिक रूपमा आगामी सेप्टेम्बर १५ (पूर्व मुख्यमन्त्री सी.एन. अन्नादुराईको जन्मजयन्ती) का दिन उद्घाटन हुने भए पनि यसलाई गत जुन २२, २०२६ (मुख्यमन्त्री विजयको जन्मदिन) देखि नै पूर्वप्रभावी हुने गरी लागू गरिएको छ । त्यसैले, जुन २२ यता सरकारी अस्पतालमा जन्मेका सबै शिशुले यो उपहार पाउनेछन् ।
यो सुविधा तामिलनाडुका स्थायी बासिन्दाहरूका लागि मात्र उपलब्ध हुनेछ । यसका लागि आमाबाबुले रासन कार्ड, आधार कार्ड वा स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । शिशु छोरा होस् या छोरी, अथवा परिवारको कतिऔं सन्तान हो, कुनै पनि भेदभाव बिना सरकारी अस्पतालमा जन्मने सबै शिशुलाई यो औंठी प्रदान गरिनेछ ।


