फिफा विश्वकप २०२६ अन्तर्गत अहिले नकआउट चरणका खेलहरु भइरहेका छन् । यसमध्ये जुन ३० र जुलाई १ मा हुने नकआउट खेलमा नर्वे र आइभोरी कोस्ट, फ्रान्स र स्वीडेन साथै मेक्सिको र इक्वेडरबीच रोमाञ्चक प्रतिष्पर्धा हुने भएको छ ।
नर्वे र आइभोरी कोस्ट
समूह ‘आई’बाट उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गरेको नर्वेले नकआउटमा अफ्रिकी टोली आइभोरी कोस्टको सामना गर्दैछ । नर्वे र आइभोरी कोस्टबीचको यो महत्वपूर्ण खेल आज (जुन ३०) मंगलबार राति १०ः४५ बजे हुँदैछ । अमेरिकाको ड्यालस स्टेडियममा हुने यो खेलको विजेता सिधै अन्तिम १६ मा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
समूह चरणको अन्तिम खेलमा फ्रान्ससँग पराजित भए पनि नर्वेले यसअघिका दुई खेल जित्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेर नकआउटमा स्थान बनाएको थियो ।
त्यस्तै, समूह ‘ई’को उपविजेता आइभोरी कोस्टले इक्वेडर र कुरासाओविरुद्ध जित निकाले पनि दोस्रो खेलमा जर्मनीविरुद्ध हार व्यहोरेको थियो । आइभोरी कोस्ट पनि ६ अंकका साथ नकआउटमा स्थान बनाउन सफल भएको हो ।
फ्रान्स र स्वीडेन
दुई प्रमुख युरोपेली राष्ट्रहरू फ्रान्स र स्वीडेनबीचको खेल जुलाई १ (नेपाली समय बुधबार बिहान १ः४५ बजे) अमेरिकाको न्यूजर्सी स्टेडियममा हुँदैछ ।
नकआउटमा स्वीडेनको सामना गर्ने समूह ‘आई’को विजेता फ्रान्स आफ्नो समूहका सबै खेल जित्दै बलियो लयका साथ नकआउट चरणमा पुगेको हो । उता, स्वीडेन उत्कृष्ट नतिजाका आधारमा तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
विश्वकपको इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् । यस खेलको विजेताले अर्को चरण (अन्तिम १६) मा जर्मनीलाई हराएको पाराग्वेसँग सामना गर्नेछ ।
अहिलेसम्म फ्रान्स र स्वीडेन चार पटक खेलेका छन् । जसमा फ्रान्स तीन र स्वीडेन एक पटक विजयी भएका छन् । के स्वीडेनले फ्रान्सलाई रोक्न सक्ला ?
मेक्सिको र इक्वेडर
यसैगरी, विश्वकप नकआउट चरणको खेलमा मेक्सिको र इक्वेडरबीच प्रतिष्पर्धा हुँदैछ । मेस्किकोको मेक्सिको सिटी स्टेडियममा (जुलाई १) नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजे सुरु हुने राउन्ड अफ ३२ को यस खेललाई महत्वका साथ हेरिएको छ ।
आयोजक मेक्सिको समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । उसले समूह चरणका तीनवटै खेलहरू (दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेकियाविरुद्ध) मा जित निकाल्दै गोलरहित सफलता पाएको हो ।
उता, इक्वेडरले समूह ‘ई’ मा खराब सुरुवात गरे तापनि आफ्नो अन्तिम खेलमा बलियो जर्मनीलाई २–१ ले पराजित गर्दै उत्कृष्ट तेस्रो स्थान हासिल गरेर नकआउट चरणमा प्रवेश गरेको हो ।
विश्वकपको इतिहासमा यी दुई टोलीबीच यसअघि सन् २००२ मा मात्र भेट भएको थियो । त्यसताका मेक्सिको २–१ ले विजयी भएको थियो । पछिल्लो पटक सन् २०२५ अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा भने १–१ को बराबरीमा सकिएको थियो ।
विश्वकपको नकआउट चरणका प्रत्येक खेल निर्णायक हुनेछन् । यसमा विजयी टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । उपाधि दाबेदार टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धासँगै केही नयाँ टोलीले इतिहास दोहोर्याउने वा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।


