सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक गरिएको छ । यसको विश्वव्यापी वरीयतामा युरोपको वर्चस्व छ । यस वर्ष स्वीडेनले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रूपमा पहिलो स्थान हासिल गरेको छ । नेपालको पासपोर्ट गत वर्षको तुलनामा झन् कमजोर देखिएको छ । यसपटक नेपालको वरीयता एक स्थान तल झरेर १६४औँ स्थानमा रहेको छ ।
विश्वका शीर्ष १० शक्तिशाली पासपोर्टमध्ये नौ युरोपेली देशका छन् । ग्लोबल पासपोर्ट इन्डेक्स रेसिडेन्सी एन्ड सिटिजनसीप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको हो । केवल बिनाभिसा यात्रा (भिसा–फ्री ट्राभल)लाई आधार मान्ने परम्परागत वरीयताभन्दा फरक यसमा १४ विभिन्न सूचकका आधारमा पासपोर्टको शक्ति मूल्यांकन गरिएको छ ।
ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ को पछिल्लो प्रतिवेदनअनुसार, नेपाली पासपोर्ट विश्वव्यापी वरीयतामा १६४औँ स्थानमा छ । नेपाली पासपोर्टवाहकले विश्वका १० देशमा बिनाभिसा वा आगमनमा भिसा (भिसा अन अराइभल)को सुविधा प्राप्त गर्न सक्छन् ।
नेपाली नागरिकका निम्ति भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान, सिंगापुरलगायत देशले बिनाभिसा वा आगमनमा भिसाको सुविधा उपलब्ध गराउँदै आएका छन् । यसले ती देशको यात्रा अपेक्षाकृत सहज बनाएको छ ।
नेपाली नागरिकले विश्वका करिब १०७ गन्तव्यमा प्रवेश गर्न भने पहिल्यै भिसा लिनुपर्ने हुन्छ । भिसा आवश्यक पर्ने प्रमुख गन्तव्यमा अमेरिका, बेलायत (यूके), जर्मनी, फ्रान्स, चीन, जापान, एन्डोरालगायत देश छन् ।
ग्लोबल पासपोर्ट इन्डेक्स रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सको प्रतिवेदनमा अपनाइएको मूल्यांकन पद्धति निकै व्यापक छ । यसले कुनै देशको पासपोर्टले अन्तर्राष्ट्रिय यात्रामा मात्र नभई बसाइँसराइ, लगानी तथा समग्र विश्वव्यापी अवसरमा कस्तो प्रभाव पार्छ भन्ने विषयको पनि मूल्यांकन गर्छ । यसनिम्ति विश्व बैंक, विश्व आर्थिक मञ्च, दिगो विकास प्रतिवेदनलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाका तथ्यांकलाई आधार बनाइएको छ ।
ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ मा समावेश १९७ देशमध्ये भारत १२५औँ स्थानमा छ । गत वर्ष भारत १२४औँ स्थानमा थियो । भारतीय पासपोर्टधारीले नेपाल, भुटान, जमैका, मकाउ, प्यालेस्टाइन, ट्युनिसिया, अंगोला, बार्बाडोससहित विश्वका २६ देशमा बिनाभिसा यात्रा गर्न सक्छन् ।
छिमेकी देशमध्ये चीन १०४औँ स्थानमा छ । पाकिस्तान १८८औँ स्थानमा छ । भुटान भारतभन्दा अगाडि १३२औँ स्थानमा छ । माल्दिभ्स १०७औँ, श्रीलंका १४१औँ र अफगानिस्तान १९७औँ स्थानमा छन् । यो सूचीको सबैभन्दा अन्तिम स्थानमा अफगानिस्तान छ ।
विश्वका १० सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये नौ युरोपेली देशका छन् । यी देशका नागरिकले पूर्वभिसाबिना नै संसारका अधिकांश मुलुकमा सहज रूपमा यात्रा गर्न सक्छन् । शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशमा क्रमशः स्वीडेन, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र डेनमार्क (संयुक्त पाँचौँ स्थान), आयरल्यान्ड, युनाइटेड किङडम/यूके, नर्वे र सिगापुर छन् । तर, विश्वका शक्तिशाली मानिने अमेरिका र फ्रान्स दुवै यो सूचीमा ११औँ स्थानमा छन् । क्यानडा १३औँ स्थानमा छ ।


