Banijya News

चीनको आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु

1
1.0K Shares

नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ परियोजना सुरु गरिएको हो ।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमका बीच यो परियोजनाको शुभारम्भ गरिएको हो । चीन सरकारको आर्थिक सहयोगमा सुरु भएको यस परियोजनाले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्‍याउने नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बताएका छन् ।

अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकायअन्तर्गतको ‘ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फण्ड’मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र नेपाल सरकारले समन्वय तथा साझेदारी गर्नेछन् ।

कार्यक्रममा चिनियाँ राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गरेका छन् । चीन र नेपालबीचको भौगोलिक सामीप्यता एवं ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकार्यका व्यापक सम्भावनाहरू रहेको उनको भनाइ छ ।

यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइसकेका छन् । जसअन्तर्गत ललितपुरको खोकनामा चिनियाँ तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेतीजस्ता कार्यक्रमहरूले नेपालको कृषि उत्पादकत्व बढाउन उल्लेख्य भूमिका खेलेको राजदूत माओमिङले स्मरण गराए ।

चीनको सफलताको उदाहरण दिँदै राजदूत माओमिङले भने, ‘चीनले विश्वको मात्र ९ प्रतिशत खेतीयोग्य जमिन र ६ प्रतिशत स्वच्छ पानीको स्रोत प्रयोग गरेर विश्वको झन्डै २० प्रतिशत जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन सफल भएको छ ।’ उनले अगाडि भने, ‘हामीले पूर्ण रूपमा गरिबी निवारण गर्दै कृषि आधुनिकीकरणमा हासिल गरेको अनुभव र प्रविधि नेपालसँग साझा गर्न प्रतिबद्ध छौँ ।’

यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानका माध्यमबाट नेपाली कृषकहरूको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढाउने लक्ष्य राखेको छ । यस सहकार्यले सन् २०३० सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल–चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

1

Scroll to Top