Banijya News

होर्मुज बैठक स्थगित, साउदी पाइपलाइन बन्द हुँदा विश्व तेल आपूर्तिमा जोखिम

1
1.0K Shares

मध्यपूर्वमा सैन्य तनाव चर्किँदै गएपछि विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना भएको छ । इरान र खाडी मुलुकहरूबीच होर्मुज जलडमरूमध्यबाट हुने पानीजहाज आवागमन व्यवस्थापनबारे सोमबार हुने भनिएको क्षेत्रीय बैठक स्थगित भएको छ ।

अर्कोतर्फ, ड्रोन आक्रमणबाट क्षति पुगेपछि साउदी अरबको महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन बन्द रहँदा विश्व बजारमा तेल आपूर्तिको जोखिम बढेको हो ।

ओमानका विदेशमन्त्री सैयद बद्र अल्बुसैदीले सहमतिको वातावरण निर्माण गर्न आवश्यक भएकाले सोमबारका लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित गरिएको जानकारी दिएका छन् । बैठकमा इरानी अधिकारीहरूले खाडीका अरब मुलुकहरूसमक्ष होर्मुज जलडमरूमध्य हुँदै हुने पानीजहाज आवागमन व्यवस्थापनसम्बन्धी ओमानसँग तयार गरिएको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका थिए ।

विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यमा तनाव बढिरहेका बेला बैठक स्थगित हुनुलाई ऊर्जा बजारका लागि थप चिन्ताको विषय मानिएको छ । खाडी क्षेत्रबाट विश्व बजारमा जाने ठूलो परिमाणको कच्चा तेल तथा पेट्रोलियम पदार्थ यही मार्ग हुँदै ढुवानी हुने गर्छ ।

यसैबीच ड्रोन आक्रमणबाट क्षति पुगेपछि साउदी अरबले करिब १ हजार २०० किलोमिटर लामो पूर्व–पश्चिम तेल पाइपलाइन बन्द राखेको छ । होर्मुज जलडमरूमध्यलाई छल्दै साउदी तेल निर्यातका लागि वैकल्पिक मार्ग उपलब्ध गराउने भएकाले यो पाइपलाइनलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ। रोयटर्ससँग कुरा गरेका तेल व्यापारी तथा साउदी तेलका खरिदकर्ताका अनुसार, पाइपलाइन सञ्चालनमा नआए यान्बु बन्दरगाहमा रहेको भण्डारबाट साउदी अरबले करिब पाँचदेखि सात दिनसम्म निर्यातलाई निरन्तरता दिन सक्नेछ । त्यसपछि विश्वको तेल आपूर्तिको करिब ४ प्रतिशतसम्म जोखिममा पर्न सक्ने आकलन गरिएको छ ।

होर्मुज क्षेत्रमा पनि सुरक्षा जोखिम बढेको छ । बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार आइतबार जलडमरूमध्य हुँदै गइरहेको एउटा जहाजमा प्रक्षेप्य वस्तु प्रहार भएपछि आगलागी भएको थियो । घटनापछि चालक दलका सदस्यलाई जहाजबाट बाहिर निकालिएको थियो । इरानले आफ्नो तटनजिकै अर्को व्यावसायिक जहाजमा भएको आक्रमणमा एक जनाको मृत्यु र चार जना घाइते भएको जनाएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीले समेत साउदी अरबमाथि आक्रमण जारी राखेका छन् । साउदी सञ्चारमाध्यमले दक्षिणी जाजान प्रान्तमा घर तथा मस्जिदमा क्षति पुगेको दृश्य सार्वजनिक गरेका छन् । हुथीले छिमेकी प्रान्तमा रहेको साउदी सैन्य आधारमा समेत आक्रमण गरेको दाबी गरेको छ ।

मध्यपूर्वको बढ्दो तनाव र तेल आपूर्ति अवरोधको सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत प्रभावित भएको छ । आपूर्ति जोखिम बढेसँगै गत साता कच्चा तेलको मूल्य जुलाईयता पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो ।

साउदी अरबले पाइपलाइनमा भएको क्षतिको विस्तृत विवरण तथा पुनः सञ्चालनको निश्चित समय सार्वजनिक गरेको छैन । मर्मत कार्य पूरा गर्न केही दिनदेखि केही सातासम्म लाग्न सक्ने विभिन्न अनुमान सार्वजनिक भएका छन् । पाइपलाइन लामो समय बन्द रहेमा भने विश्व ऊर्जा बजारमा आपूर्ति, मूल्य र ढुवानी लागतसम्बन्धी दबाब अझ बढ्न सक्ने जोखिम देखिएको छ ।

1

Scroll to Top