Banijya News

आगामी आ.व.मा ६६ अर्ब बढी लाभांश कमाउने लक्ष्यमा सरकार, वित्तीय क्षेत्रबाट धेरै अपेक्षा

1
1.1K Shares

सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा आफ्नो स्वामित्व रहेका निकायहरूबाट ६६ अर्ब ५८ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश संकलन गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्रालयले प्रस्तुत गरेको पूर्वानुमानअनुसार यो लक्ष्य हालको आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब ८ अर्ब बढी हो।

चालु आर्थिक वर्ष ०८१र/८२ मा सरकारले कुल ५८ अर्ब ४१ करोड रुपैयाँ लाभांश संकलन गर्ने लक्ष्य राखेको छ, भने अघिल्लो वर्ष ०८०र/८१ मा ४६ अर्ब ६१ करोड रुपैयाँ लाभांश उठाएको थियो।

लाभांश आम्दानीमा सबैभन्दा ठूलो योगदान वित्तीय निकायहरूबाट हुने अनुमान गरिएको छ। आगामी आवमा वित्तीय निकायबाट ३६ अर्ब ३१ करोड रुपैयाँ लाभांश उठाउने लक्ष्य छ। चालु आवको संशोधित अनुमान २९ अर्ब ९७ करोड रहेको छ, जबकि अघिल्लो आवमा सरकारलाई २७ अर्ब एक करोड रुपैयाँ मात्र प्राप्त भएको थियो।

त्यस्तै, सेवामूलक निकायहरूबाट २९ अर्ब ३ करोड लाभांश उठाउने लक्ष्य राखिएको छ। चालु आवमा २६ अर्ब ४० करोड र अघिल्लो आवमा १९ अर्ब ५३ करोड ३२ लाख लाभांश उठाइएको थियो।

व्यापारिक निकायहरूबाट एक अर्ब १७ करोड र औद्योगिक निकायहरूबाट चार करोड ४५ लाख रुपैयाँ लाभांश उठाउने सरकारको लक्ष्य छ। चालु आवमा यिनै निकायहरूबाट क्रमशः एक अर्ब ९९ करोड र एक करोड ६५ लाख लाभांश संकलन हुने अनुमान गरिएको छ।

सरकारी लगानी भएका संस्थाहरूको वित्तीय अनुशासन, नाफा क्षमतामा सुधार, र नीति प्रभावकारिता देखिएको सन्दर्भमा आगामी वर्षको लक्ष्यलाई सरकारद्वारा सम्भव मानिएको छ। यद्यपि, व्यापारिक र औद्योगिक निकायको योगदान तुलनात्मक रूपमा न्यून नै रहने देखिएको छ।

1

Scroll to Top