Banijya News

डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

1
1.2K Shares

देशभर आइतबार विश्व दुग्ध दिवस भव्य कार्यक्रमसहित मनाइयो। सरकारी तथा गैरसरकारी संस्थाहरूले र्याली, गोष्ठी र जनचेतनामूलक कार्यक्रम गरे पनि किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन्। विगत लामो समयदेखि दुग्ध सहकारी, निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको भुक्तानी किसानहरूले पाउन सकेका छैनन्।

कृषि मन्त्रालयका अनुसार डेरी उद्योग, डेरी एसोसिएसन र डीडीसी लगायत निजी उद्योगहरूले किसानलाई तिर्नुपर्ने रकम झन्डै ४ अर्ब रुपैयाँ बाँकी छ। डीडीसीबाट मात्र १ अर्ब रुपैयाँको भुक्तानी हुन बाँकी छ। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर भुक्तानी बाँकी रहेका किसानहरूको विवरण संकलन गर्दै मन्त्रालयसँग छलफल गरेर सार्वजनिक गर्ने बताए।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विश्वव्यापी महामारी र पछिल्लो आर्थिक मन्दीका कारण किसानलाई भुक्तानी दिन समस्या आएको बताए। केही उद्योगहरूले बाध्यताले भुक्तानी दिन नसकेको भए पनि केहीले जानाजानी बेवास्ता गरेको स्वीकार गरे। उनले दुग्ध पदार्थ निर्यातमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानको भुक्तानी अझै नपाउनु दुःखद रहेको बताए र सरकारसँग भुक्तानी बाँकी रहेका उद्योगहरूको विवरण सार्वजनिक गर्न आग्रह गरे। आयातमा प्रतिबन्ध लगाएपछि नेपाली उद्योगलाई अवसर मिलेको भन्दै त्यसको सदुपयोग गर्नुपर्ने उनले बताए।

केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले डीडीसीबाटै भुक्तानी रोकिएको अवस्थाले सरकारको भूमिका प्रश्नमा परेको टिप्पणी गरे। उनले किसानलाई केन्द्रमा राखेर दुग्ध नीति बनाउन सरकारलाई आग्रह गरे।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएदेखि ११ महिनामा पनि किसानको दूधको पैसा तिर्न नसकेको पीडा व्यक्त गर्दै किसान इमान्दार भए पनि आफूहरू इमान्दार हुन नसकेको स्वीकार गरे। उनले आगामी बजेटमा किसानको भुक्तानी सुनिश्चित गर्न पहल गर्ने बताए।

दुग्ध विकास बोर्डका सदस्य कृष्णप्रसाद सापकोटाले सरकारी, निजी र सहकारी क्षेत्रको समन्वयमा दुग्ध उपभोग बढाउन विद्यालय, कलेज र सरकारी कार्यालयहरूमा दूधको अनिवार्य उपभोग नीति ल्याउन सुझाव दिए। अर्का सदस्य सुमित केडियाले उत्पादन र खपत सँगसँगै बढाउनुपर्ने र प्रविधिमा लगानी आवश्यक रहेको बताए।

डीडीसीका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले भुक्तानी रोकिनु स्वीकार गर्दै उत्पादन निर्यातमार्फत समाधान खोज्ने सम्भावना औँल्याए। पशु सेवा विभागका महानिर्देशक रमानन्द तिवारीले दूधको सेवन मानव स्वास्थ्यका लागि लाभदायक भएको बताउँदै कोल्ड ड्रिङ्क्सको सट्टा दूध र मोहीजस्ता स्वास्थ्यवर्धक वस्तुको प्रवर्द्धन आवश्यक रहेको बताए।

1

Scroll to Top