Banijya News

घरजग्गा कारोबारमा कडाईः ३ करोडभन्दा माथिको विवरण राष्ट्र बैंकमा रिपोर्ट गर्नुपर्ने

1
1.1K Shares

रकारले घरजग्गा खरिद–बिक्रीमा कडाइ गर्दै नयाँ नियम लागू गरेको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीको रोकथामका लागि सरकारले जारी गरेको निर्देशनअनुसार अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य बनाइएको छ।

नेपाल हाल ‘फाइनान्सियल टास्क फोर्स’ (FATF) को ग्रे लिस्टमा परेकाले देशलाई उक्त सूचीबाट हटाउने उद्देश्यले घरजग्गा कारोबार प्रणालीमा कडाइ गरिएको हो। नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न दुई वर्षको समय दिइएको छ। यसै सन्दर्भमा सरकारले वित्तीय पारदर्शिता अभिवृद्धि गर्न र कालो धन नियन्त्रण गर्न घरजग्गा कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन खोजेको हो।

नयाँ व्यवस्थाअनुसार सूचक संस्थाले कारोबारको प्रमाणस्वरूप खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको विवरण आवश्यक कागजातसहित पेश गर्नुपर्नेछ। यसले अवैध सम्पत्ति कारोबार तथा वित्तीय दुरुपयोगलाई रोक्ने अपेक्षा गरिएको छ।

त्यस्तै, दस लाख रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्दा अबदेखि रजिष्ट्रेशन शुल्क खरिदकर्ताको खाताबाट र लाभकर बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयको राजस्व खातामा अनिवार्यरूपमा बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ।

रकमको आकारअनुसार कारोबारको माध्यमसमेत स्पष्ट पारिएको छ। दस लाखदेखि पचास लाखसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्नेछ भने पचास लाखभन्दा माथिको कारोबार अनिवार्यरूपमा ‘गुड फर पेमेन्ट चेक’ वा विद्युतीय प्रणालीमार्फत मात्र गर्न पाइनेछ।

यसैगरी, एक दिनमा जम्मा तीन करोड रुपैयाँ वा सोभन्दा बढीको घरजग्गा कारोबार गर्ने व्यक्तिले त्यो विवरण नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। यदि कारोबार शंकास्पद देखिएमा सूचक संस्थाले त्यसको जानकारी पनि अनिवार्यरूपमा इकाइलाई पठाउनुपर्नेछ।

निर्देशनमा ‘घरजग्गा खरिद–बिक्री गर्ने व्यक्ति’ भन्नाले प्राकृतिक र कानुनी दुवै व्यक्ति बुझिने स्पष्ट गरिएको छ। सरकारले यी कानूनी प्रावधानमार्फत सम्पत्ति शुद्धीकरण, वित्तीय छल तथा अवैध कारोबार नियन्त्रणमा सशक्त कदम चालेको छ।

1

Scroll to Top