Banijya News

आगामी वर्ष दुई खर्ब ८७ अर्ब वैदेशिक सहायता लिने लक्ष्य, १९ प्रतिशत अनुदान

1
1.1K Shares

आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले वैदेशिक सहायता (ऋण र अनुदान) पुरानै दाता संस्थाहरूबाट प्राप्त गर्ने लक्ष्य लिएको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले दुई खर्ब ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता लिने योजना बनाएको छ, जसमा दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ ऋण र ५३ अर्ब ४५ करोड रुपैयाँ अनुदान रहनेछ।

अनुदानतर्फ बहुपक्षीय स्रोतबाट १६ अर्ब ९२ करोड र द्विपक्षीय स्रोतबाट ३१ अर्ब ५४ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य छ। बहुपक्षीय अनुदानमा एडीबी, विश्व बैंक, युएन, युएनडीपी, एसडीएफ, जीपीई र एसईएसपीजस्ता संस्थाबाट सहयोग लिने लक्ष्य राखिएको छ। द्विपक्षीय अनुदानमा भारत, चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, नर्वे, फिनल्यान्ड, स्विट्जरल्यान्ड, युरोपियन युनियनलगायतबाट सहयोग लिने अपेक्षा गरिएको छ।

ऋणतर्फ सबैभन्दा ठूलो हिस्सा एडीबी (१ खर्ब १३ अर्ब), विश्व बैंक (७२ अर्ब), र आईएमएफ (११ अर्ब २० करोड) बाट हुनेछ। अन्य संस्थाहरूमा ओपेक, आईफाड, एआईआईबी र एसईएसपीबाट पनि ऋण लिने योजना छ। द्विपक्षीय ऋणतर्फ भारत, चीन, जापान, कुवेत, साउदी विकास कोष र युरोपियन युनियन प्रमुख स्रोत हुनेछन्।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो समय नेपाल अनुदानभन्दा ऋण लिनसक्ने मुलुकका रूपमा चिनिँदै गएको छ। अर्थविद् केशव आचार्यका अनुसार विश्वव्यापी आर्थिक संकट, कोभिड र युद्धका कारण अनुदान घट्दै गएको हो।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुदानको अंश घटेको र प्रतिबद्धता अनुसार सहायता नआएको बताए। यद्यपि वैदेशिक सहायता अझै पनि परियोजनामुखी हुने भएकाले बहुपक्षीय निकायहरूसँगको सहकार्य महत्त्वपूर्ण रहेको मन्त्रालयको भनाइ छ।

सरकारी ऋण वृद्धिको अवस्था रहे पनि जोखिमपूर्ण नदेखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जीडीपीको ४२.०२ प्रतिशत बराबरको ऋण रहेको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित मानिन्छ। उप–सचिव प्रकाश पुडासैनीका अनुसार विकास निर्माण र आर्थिक दायित्व पूरा गर्न सार्वजनिक ऋण नेपालजस्तो देशका लागि आवश्यक हुन्छ।

1

Scroll to Top