Banijya News

बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै

1
1.4K Shares

समृद्धि इनर्जी लिमिटेडले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजना (पीआरओआर) निर्माण गर्ने भएको छ। आयोजना निर्माणका लागि आवश्यक पर्ने ४४ अर्ब ५१ करोड रुपैयाँ लगानी स्वीकृत गर्न लगानी बोर्डले तयारी गरिरहेको छ।

बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार जेठ २२ गते बस्ने ६३औँ बोर्ड बैठकमा समृद्धि इनर्जीको प्रस्ताव स्वीकृत गरिनेछ। आयोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) रहने गरी लगानी संरचना बनाइएको छ। स्वपुँजीमध्ये केही हिस्सा प्राथमिक सेयर (आईपीओ) निष्कासनमार्फत उठाउने योजना रहेको कम्पनीले जनाएको छ। ऋण लगानीको नेतृत्व लक्ष्मी सनराइज बैंकले गर्नेछ भने अन्य बैंकहरूसँग सहवित्तीयकरण गरिनेछ।

कम्पनीको अध्ययनअनुसार आयोजनाबाट वार्षिक एक अर्ब २२ करोड ९६ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ। जसमध्ये बर्खायाममा ८३ करोड ४५ लाख युनिट र सुक्खायाममा ३९ करोड ५० लाख युनिट बिजुली उत्पादन हुनेछ।

आयोजना सन् २०३१ जुलाई १५ (वि.सं. २०८८ असार ३१) भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। हाल आयोजनाको प्रारम्भिक कार्यहरू अघि बढिरहेका छन्। विस्तृत इन्जिनियरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पारिसकिएको छ।

विद्युत्गृहमा ५५.७ मेगावाट क्षमताका चार भर्टिकल एक्सिस पेल्टन टर्बाइन जडान गरिनेछ। आयोजना ७५० मिटर कुल हेडमा आधारित छ। आयोजनाको बाँध साइपाल–४ र ५ मा रहनेछ भने अन्य संरचना सेती नदीको बायाँ किनारमा बन्नेछ। बाँधको लम्बाइ ४० मिटर र उचाइ १४ मिटर हुनेछ।

आयोजनाबाट ५ लाख ५२ हजार ४२० घनमिटर पानी संकलन गरी दैनिक साढे ४ घण्टा विद्युत् उत्पादन गरिनेछ। उत्पादन हुने विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १२६ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको कैलालीस्थित लम्की सबस्टेसनमा पठाइनेछ।

नेपाल विद्युत् प्राधिकरणसँग पीपीए (Power Purchase Agreement) सम्पन्न भइसकेको छ। उक्त सम्झौता अनुसार बर्खायाममा प्रति युनिट ४.८० रुपैयाँ र सुक्खायाममा न्यूनतम ८.५० रुपैयाँदेखि अधिकतम १०.५५ रुपैयाँसम्म दर निर्धारण गरिएको छ। साथै, आयोजना सञ्चालन अवधिमा ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि गर्न सकिने व्यवस्था गरिएको छ। समृद्धिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट विद्युत् उत्पादन अनुमति (लाइसेन्स) पनि प्राप्त गरिसकेको छ।

1

Scroll to Top