Banijya News

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्यको निर्णय सरकारी निकायबीच नै विवाद

1
1.2K Shares

घरजग्गा खरिद–बिक्री गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने प्रावधान तत्काल लागू नहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासोपछि उक्त प्रावधान स्थगन गर्ने कि संशोधन गर्ने भन्नेबारे छलफल भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०८२ स्वीकृत गरी यही जेठ १३ गते जारी गरेको थियो। त्यसको भोलिपल्टै जेठ १४ मा देशभरका मालपोत तथा भूमिसुधार कार्यालयलाई सर्कुलर पठाइएको थियो। तर, त्यसयता सरकारी निकायहरूबीच निर्देशनको कार्यान्वयनबारे मतभेद देखिएको छ।

मन्त्रालय स्रोतका अनुसार, ठूलो रकमको कारोबार भए पनि मालपोतमा न्यून मूल्य देखाउने चलन नियन्त्रण गर्न निर्देशन ल्याइएको हो। तर प्रधानमन्त्री कार्यालयबाट अनौपचारिक रूपमा निर्देशन आएपछि यो निर्णय तत्काल लागू गर्ने कि नगर्ने भन्नेमा अन्योल भएको स्रोतले बतायो। “तत्काल स्थगन नगर्ने पक्षमा नै छौं, तर प्रधानमन्त्री कार्यालयको चासोपछि संशोधन गर्ने कि स्थगन भन्नेबारे छलफल भइरहेको छ,” स्रोतले भन्यो।

नेपाल हाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ। त्यसबाट बाहिरिन दुई वर्षको समयसहित कार्ययोजना तयार पारिएको छ। यही कार्ययोजनाअनुसार भूमि विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन ल्याएको हो।

निर्देशनअनुसार घरजग्गा कारोबार गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको प्रमाण पेश गर्नुपर्नेछ। त्यस्तै, खरिद–बिक्रीमा संलग्न दुवैले केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

तर, यो प्रावधान हतारोमा ल्याइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतमले असहमति जनाएका छन्। “लिने–दिने दुवैले बैंक स्टेटमेन्ट र केवाईसी अनिवार्य पेश गर्नुपर्ने व्यवस्था राखिएको रहेछ, जुन व्यवहारिक देखिएन। यो निर्णय स्थगन गर्ने तयारीमा छौं,” गौतमले बताए।

1

Scroll to Top