नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूले करिब साढे ६९ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्मको अवधिमा ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल ६९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्।
कुल निक्षेपमध्ये वाणिज्य बैंकले मात्रै ६२ खर्ब ८ अर्ब रुपैयाँ संकलन गरेका छन् भने बाँकी ७ खर्ब ३७ अर्ब रुपैयाँ अन्य विकास बैंक तथा वित्तीय संस्थाबाट संकलन भएको हो।
त्यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५५ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरूको कर्जा लगानी ४९ खर्ब ३१ अर्ब, र अन्य संस्थाहरूको कर्जा ६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
बैंकहरूको हालको सीडी रेसियो (Credit to Deposit Ratio) ७८.७८ प्रतिशतमा रहेको छ। साथै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेकोले नियमित रूपमा बैंकहरूबाट तरलता सानो परिमाणमा फिर्ता लिने कार्य भइरहेको छ।


