Banijya News

पछिल्लो एक दशकमा सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमा मात्रै १२ खर्ब खर्च

1
1.1K Shares

गत एक दशकमा नेपाल सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज (ऋण सेवा) भुक्तानीमा ११ खर्ब ९७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्ममा सरकारद्वारा बाह्य ऋणमा ३ खर्ब २ अर्ब ९५ करोड र आन्तरिक ऋणमा ८ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

एक दशकमा मात्र ब्याज तिर्न ३ खर्ब २५ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ भने बाँकी ८ खर्ब ७२ अर्ब २२ करोड रुपैयाँ ऋणको साँवा तिर्न प्रयोग भएको हो। पछिल्लो समय ऋणको दायित्व तीव्र रुपमा बढेसँगै सरकारले ऋणको साँवा–ब्याज भुक्तानी गर्नकै लागि पुनः ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ।

गएको आर्थिक वर्ष ०८०/८१ मा सरकारले ३ खर्ब ६० अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाएको थियो। सोही वर्ष ऋण भुक्तानीमा ३ खर्ब ५ अर्ब रुपैयाँ खर्च भयो, जसमा २ खर्ब २३ अर्ब साँवा र ८२ अर्ब ब्याज रहेको थियो। यसले उठाइएको ऋणको ८५ प्रतिशतभन्दा बढी पुराना ऋण भुक्तानीमै खर्च भएको देखाउँछ।

पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापनमा बजेट छुट्याउनुपर्ने अवस्था आर्थिक वर्ष ०८०/८१ देखि देखिएको हो। २०७२ सालको भूकम्पपछि लिइएका ठूला ऋण, तलब–भत्ताको बढ्दो बोझ र संघीयता अन्तर्गत स्थानीय तथा प्रदेश सरकारलाई बजेट हस्तान्तरण गर्नुपर्ने दायित्वका कारण संघीय सरकारको पुँजीगत खर्चमा संकुचन आएको विज्ञहरू बताउँछन्।

चालु आर्थिक वर्षमा पनि पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ६७ अर्ब छुट्याइएको छ। हाल ऋण सेवा खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३५ प्रतिशत पुगेको छ, जसमा साँवा ३.९२ र ब्याज १.४४ प्रतिशत रहेको छ।

सरकारको कार्ययोजना अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५ खर्ब २२ अर्ब र २०८३/८४ मा ५ खर्ब ९२ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्नुपर्ने देखिएको छ। सहुलियत दरमा लिइएको बाह्य ऋणको व्याज कम भए पनि विनिमयदरको जोखिम कायमै रहेको र आन्तरिक ऋणमा ब्याज भार धेरै पर्ने देखिएको छ।

गएको वैशाखसम्म कुल सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब पुगेको छ। राजस्वको ठुलो हिस्सा ऋण भुक्तानीमै खर्चिनु परेपछि सामाजिक सुरक्षा तथा विकासमा लगानी घटेको अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ। उनले यसले दिगो विकासको लक्ष्य टाढा धकेल्ने चेतावनी दिएका छन्।

अर्थविद्हरूको भनाइमा उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, घट्दो विकास सहायता र कमजोर प्रत्यक्ष वैदेशिक लगानीका कारण नेपालजस्ता अल्पविकसित देशमा आन्तरिक राजस्व परिचालन कमजोर हुँदै गएको छ। उनीहरू विकास सहायता र निजी पुँजीको अधिकतम उपयोगमार्फत स्रोत परिचालन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन्।

अर्थविद् डिल्लीराज खनालका अनुसार आन्तरिक तथा बाह्य ऋणको निरन्तर वृद्धिले सरकारको पुँजीगत खर्च क्षमतामा संकुचन ल्याइरहेको छ। उनले बजेट घाटा बढाउँदै लैजाने चलनले समग्र अर्थतन्त्रमा अस्थिरता ल्याउने खतरा रहेको बताएका छन्। ‘ऋण भुक्तानीको दायित्व बढेसँगै भविष्यमा पुँजीगत खर्च घट्नुका साथै विकास परियोजनामा बजेट अभाव हुने सम्भावना छ,’ उनी भन्छन्।

गत १० वर्षमा सरकारले २५ खर्ब ९१ अर्ब रुपैयाँ ऋण संकलन गरेको छ। त्यसमा ९ खर्ब ९० अर्ब रुपैयाँ (३८.२४ प्रतिशत) बाह्य र १६ खर्ब ८४ अर्ब (६१.७६ प्रतिशत) आन्तरिक ऋण रहेको छ। ऋण वृद्धिदर वार्षिक औसत १७ प्रतिशत रहेको देखिन्छ।

सरकारले आन्तरिक ऋण संकलनमा प्राथमिकता दिएको पाइन्छ, जहाँ वार्षिक औसत संकलन दर ८६.४५ प्रतिशत छ भने बाह्य ऋण संकलन औसत ४९ प्रतिशत मात्र हो। यही कारणले आन्तरिक ऋणको ब्याज भार बढेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार ऋणको साँवा–ब्याज तिर्ने अवस्था उठाइएको ऋणभन्दा सधैं बराबर हुँदैन। उनले निकट भविष्यमा ऋण भुक्तानीको चाप बढ्ने स्वीकार गर्दै पनि जीडीपी अनुपातमा नेपालको स्थिति हाललाई सन्तोषजनक रहेको बताए।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ, जुन चालु वर्षको बजेटभन्दा १ खर्ब ३ अर्बले मात्रै बढी हो। चालु वर्षको बजेट लक्ष्यभन्दा सवा १ खर्ब कम खर्च हुने देखिएको छ।

आगामी वर्ष सरकारलाई ५ खर्ब ९५ अर्ब बजेट घाटा रहनेछ, जसलाई वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब उठाएर पूरा गर्ने योजना छ।

नेपालमा सार्वजनिक ऋणको मात्रा जीडीपीको ४२.९४ प्रतिशत पुगेको छ। कतिपय अन्तर्राष्ट्रिय मान्यताअनुसार अल्पविकसित मुलुकका लागि ६० प्रतिशतसम्मको ऋण अनुपात स्वीकार्य मानिन्छ। विश्व बैंक र आईएमएफले प्रकाशित गरेको प्रतिवेदनअनुसार हाल नेपालको ऋण अवस्था जोखिमरहित छ।

तर ऋणको प्रयोग कहाँ भइरहेको छ भन्ने कुराले यसको दीर्घकालीन असर निर्धारण गर्छ। उत्पादनशील र पुँजीगत खर्चमा ऋण उपयोग भए आर्थिक वृद्धिमा सकारात्मक असर पर्छ। तर तलब, भत्ता, पेन्सनजस्ता चालु खर्चमा खर्चिएमा अर्थतन्त्रमा समस्या आउन सक्ने अर्थशास्त्रीहरूको चेतावनी छ।

1

Scroll to Top