नेपालको उद्योग क्षेत्रमा हालसम्म साढे पाँच खर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म ६,९८२ वटा उद्योग स्थापनाका लागि कुल ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो।
विदेशी लगानीको सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रमा केन्द्रित छ, जसमा एक खर्ब ६५ अर्ब १७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। त्यसपछि क्रमशः ऊर्जा क्षेत्रमा एक खर्ब ४३ अर्ब ९० करोड, पर्यटन क्षेत्रमा एक खर्ब ३५ अर्ब ६९ करोड, उत्पादनमूलक क्षेत्रमा ७८ अर्ब ७७ करोड, सूचना प्रविधिमा १४ अर्ब ५७ करोड, कृषि तथा वनपैदावरमा ९ अर्ब ४६ करोड, पूर्वाधारमा ८ अर्ब ७० करोड र खनिज क्षेत्रमा ८ अर्ब ३३ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ।
राष्ट्रियताको हिसाबले सबैभन्दा धेरै लगानी प्रतिवद्धता चीनबाट आएको छ, जसअन्तर्गत चीनबाट २ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता जनाइएको छ। त्यसपछि भारतबाट १ खर्ब ९ अर्ब ५२ करोड, हङकङबाट २९ अर्ब ५८ करोड, दक्षिण कोरियाबाट २६ अर्ब ३१ करोड, अमेरिकाबाट १९ अर्ब ९० करोड र बेलायतबाट १५ अर्ब ८७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
लगानी बोर्ड तथा उद्योग विभागमार्फत विदेशी लगानीकर्ताले उद्योगमा लगानी गर्न सक्नेछन्। ६ अर्ब रुपैयाँसम्मको लगानी विभागमार्फत र त्यसभन्दा माथिको लगानी लगानी बोर्डमार्फत स्वीकृत गरिने व्यवस्था छ। उद्योग दर्ताका लागि साना, मझौला र ठूला उद्योगको वर्गीकरण “औद्योगिक व्यवसाय ऐन, २०७५” अनुसार गरिएको छ।
नेपालमा विदेशी लगानीकर्ताले आफ्नो लगानी तथा मुनाफा कानूनी प्रक्रियाअनुसार विदेश लैजान सक्ने व्यवस्था “प्रत्यक्ष विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५” र नेपाल राष्ट्र बैंकको विनियमनमार्फत गरिएको छ। यसबाट नेपालमा विदेशी लगानीको वातावरण खुला र पारदर्शी भएको संकेत मिलेको मन्त्रालयको भनाइ छ।


