Banijya News

१० महिनामा निजी क्षेत्रले लियो ३ खर्ब ६८ अर्ब कर्जा

1
1.1K Shares

आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ३ खर्ब ६८ अर्ब ६८ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। यो गत वर्षको तुलनामा ७.३ प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको यही अवधिमा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) कर्जा प्रवाह भएको थियो।

२०८२ वैशाख मसान्तमा वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यी कर्जामध्ये ६३.१ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३६.९ प्रतिशत व्यक्तिगत तथा घरपरिवारमा प्रवाह भएको छ। गत वर्ष यी क्षेत्रको हिस्सा क्रमशः ६३.७ र ३६.३ प्रतिशत थियो। वाणिज्य बैंकहरूको कर्जा ७.६ प्रतिशत, विकास बैंकहरूको ४.१ प्रतिशत र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ।

कर्जाको धितोमा ६५.१ प्रतिशत घरजग्गा र १४.६ प्रतिशत चालु सम्पत्ति (कृषि र गैर कृषिजन्य) छन्। गत वर्ष यी अनुपात क्रमशः ६८.५ र १२.१ प्रतिशत थिए। क्षेत्रगत रूपमा औद्योगिक उत्पादनमा ९.० प्रतिशत, निर्माणमा १२.३ प्रतिशत, थोक–खुद्रा व्यापारमा ४.९ प्रतिशत, यातायात–सञ्चार–सार्वजनिक सेवामा ११.९ प्रतिशत, सेवा उद्योगमा ७.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.८ प्रतिशत कर्जा वृद्धि भएको छ।

कर्जा प्रकारमा मार्जिन कर्जा ३९.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशत, आवधिक कर्जा ५.१ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, नगद प्रवाह कर्जा ३.४ प्रतिशत र रियल स्टेट कर्जा ५.२ प्रतिशतले बढेको छ। तर, अधिविकर्ष कर्जा भने १२.९ प्रतिशतले घटेको छ। यो कर्जा वृद्धिले विशेषगरी निर्माण, यातायात र औद्योगिक क्षेत्रमा आर्थिक गतिविधि बढेको देखाएको छ।

1

Scroll to Top