Banijya News

संघीय मन्त्रालयहरूको बजेट कार्यान्वयन कमजोर, उद्योग मन्त्रालय सबैभन्दा पछाडि

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारका अधिकांश मन्त्रालयहरूको बजेट कार्यान्वयन कमजोर देखिएको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक मूल्यांकन अनुसार धेरैजसो कार्यक्रम प्रक्रिया चरणमै अड्किएका छन्, भने केही प्रमुख योजना रद्द भएका वा घोषणा मात्रै सीमित भएका छन्।

सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो। तर, चैत मसान्तसम्म जम्मा ११ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँमात्र खर्च भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर अन्य धेरै मन्त्रालयहरूको पूँजीगत खर्च अत्यन्तै कम देखिएको छ।

अर्थ मन्त्रालयले मात्र ३७ अर्ब ५ करोड रुपैयाँको बजेट लिएको भए पनि चैतसम्म जम्मा १३ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ। प्रमुख परियोजनाहरू—जस्तै एमसीसी अन्तर्गतका कार्यक्रमहरू, गण्डकी आर्थिक त्रिभुज परियोजना, सामाजिक सुरक्षा कार्यक्रम राष्ट्रिय परिचयपत्रसँग जोड्ने योजना—सबै अधुरै छन्।

गण्डकी आर्थिक त्रिभुज परियोजनाबारे मन्त्रालयले मोडालिटी स्पष्ट नभएको भन्दै कार्यक्रम नै रद्द गरिसकेको छ। नारायणघाट–बुटवल सडक विस्तार, कमला–कञ्चनपुर सडकखण्ड सुधारजस्ता योजनाहरू पनि लक्षित समयमा पूरा हुन सकेनन्। सार्वजनिक संस्थान सुधार, PPP मोडेलमा उद्योग संचालन, र भन्सारमा चोरी नियन्त्रणसम्बन्धी घोषणाहरू प्रगति रिपोर्टमा सामान्य प्रक्रिया पूरा गरेको भन्दै समेटिएका छन्।

राजस्व संकलन पनि अपेक्षाभन्दा कम भएको छ। चैत मसान्तसम्म जम्मा ८ खर्ब ४१ अर्ब रुपैयाँ संकलन भएको छ, जुन लक्षित १० खर्ब १६ अर्बको ८२.७२ प्रतिशत मात्र हो।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थिति झनै दयनीय देखिएको छ। स्वदेशी उत्पादन प्रोत्साहन कार्यक्रम, औद्योगिक ग्राम निर्माण, नेपाली गलैँचा करिडोर विकास, स्टार्टअप बोर्ड स्थापना, महिला उद्यमीका लागि चोभारमा प्रदर्शनी स्थल निर्माणजस्ता घोषणाहरू अधिकांश घोषणाको स्तरमै सीमित भएका छन्। टिमुरे र भैरहवामा एकीकृत जाँच चौकी निर्माणसमेत सम्पन्न हुन सकेको छैन।

उद्योग मन्त्रालयको चालुतर्फ खर्च चैत मसान्तसम्म १५.३४ प्रतिशतमा सीमित छ भने पूँजीगत खर्च झनै न्यून ५.२२ प्रतिशत मात्र छ—यो सबै संघीय मन्त्रालयहरूमध्ये सबैभन्दा कमजोर कार्यान्वयन हो।

1

Scroll to Top