Banijya News

२५ अर्ब लागतमा एक सय २६ मेगावाटको तल्लो सेती आयोजना बन्दै

1
1.3K Shares

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले सेती नदीमा १२६ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजना निर्माण गर्न तयारी थालेको छ। तल्लो सेती अर्धजलासय (पीआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको छ। ईआईए प्रतिवेदनमा सर्वसाधारणको सुझाव मागिएको छ र आवश्यक प्रक्रिया पूरा भएलगत्तै स्वीकृत गरिनेछ।

यो आयोजना करिब २५ अर्ब रुपैयाँ (२२ करोड ७० लाख अमेरिकी डलर) लागतमा बन्नेछ। विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसियाली विकास बैंक (एडीबी) को ३५ लाख डलर अनुदान सहयोगमा तयार भइसकेको छ। आयोजनामा एडीबीसँगै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले पनि लगानी गर्ने तयारी गरेको छ। यी दुवै निकायको सहयोगमा नै हाल १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा तल्लो सेती आयोजना अगाडि बढाउने उल्लेख गरिसकेको छ, यद्यपि अझै यसको लागि आवश्यक वित्तीय संरचना पूरा हुन बाँकी छ। आयोजना तनहुँको दमौलीभन्दा २४ किलोमिटर तल सेती नदीमा निर्माण गरिनेछ। बाँधको उचाइ ३२ मिटर हुनेछ भने जलासय १२.७ किलोमिटर लामो हुने बताइएको छ। सुरुङको लम्बाइ ६.७५ किलोमिटर हुने अनुमान छ।

यो आयोजना तनहुँ जलविद्युत्को टेलरेसबाट निस्कने पानी र मादी नदीको पानी मिसाएर सञ्चालन गरिनेछ। आयोजनाको सबैजसो भौतिक संरचना सेती नदीको दायाँबायाँ, विशेषतः बन्दीपुरको सारगंघाट आसपासमा रहनेछन्। हेडवक्र्स सारगंघाट क्षेत्रमा पर्नेछ भने विद्युतगृह तनहुँकै देवघाट गाउँपालिका–४ काफलडाँडामा हुनेछ।

योजनामा आवश्यक रहेका कार्यालय, शिविर, क्रसर प्लान्ट, उत्खनन र उपकरण स्थलदेखि लिएर सुरुङ, टनेल, पेनस्टक र अर्ध भूमिगत विद्युतगृह सबै संरचना तनहुँ जिल्लामा पर्नेछन्। आयोजना कार्यान्वयन भएमा तनहुँको बन्दीपुर, ऋषिङ, व्यास, देवघाट, आबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका–२९ प्रभावित हुनेछन्।

डीपीआरअनुसार आयोजना वार्षिक ५२ करोड ४२ लाख युनिट विद्युत् उत्पादन गर्नेछ। आयोजनामा तीन वटा टर्बाइन जडान गरिनेछ र यसको डिजाइन डिस्चार्ज २०६.९ घनमिटर प्रतिसेकेन्ड रहनेछ। आयोजना कार्यान्वयनका लागि कुल २७१.७६ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमा १६१.४६ हेक्टर राष्ट्रिय वन र ११०.३० हेक्टर निजी जग्गा पर्छ।

उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समावेश गर्नका लागि आयोजना तनहुँ जलविद्युत्को २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडिनेछ। यसका लागि आयोजनाले थप दुई किलोमिटर प्रसारण लाइन पनि निर्माण गर्नुपर्नेछ।

हाल तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाटको आयोजना करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ। बाँकी ३५ प्रतिशत काम आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि समय थपिन सक्ने प्रस्ट संकेत छ।

1

Scroll to Top