सरकारले चालु आर्थिक वर्षको जेठ ३० गतेसम्म १२ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। यसमध्ये ८ खर्ब ४९ अर्ब चालु खर्च, १ खर्ब ४१ अर्ब पुँजीगत (विकास) खर्च र २ खर्ब ८७ अर्ब वित्तीय व्यवस्थातर्फ खर्च भएको देखिन्छ। जेठ १५ मा प्रस्तुत १८ खर्ब ६० अर्बको बजेटमध्ये करिब ५ खर्ब ८० अर्ब अझै खर्च हुन बाँकी छ।
बजेट कार्यान्वयनमा भने सरकार कमजोर देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा बजेट ल्याउने जिम्मा तत्कालीन अर्थमन्त्री वर्षमान पुनको थियो भने कार्यान्वयनको जिम्मेवारी गठबन्धन फेरिएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुम्पिएको थियो। अब आर्थिक वर्ष सकिन एक महिना बाँकी छँदा पनि बजेट पूर्णरूपमा कार्यान्वयन हुने सम्भावना न्यून देखिन्छ।
सरकारले यसअघि नै चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल नहुने स्पष्ट गरिसकेको छ। अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेका छन्, तर बजेटको कार्यान्वयन दर र खर्चको असन्तुलन हेर्दा त्यो लक्ष्य पनि चुनौतिपूर्ण देखिन्छ।


