देशको अर्थतन्त्र अझै गतिमा फर्कन नसक्दा चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारको राजस्व संकलन संशोधित लक्ष्यसम्म पनि पुग्ने सम्भावना न्यून देखिएको छ।
सरकारले चालु वर्षको बजेटमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। तर, राजस्व संकलनको अवस्था कमजोर भएपछि अर्धवार्षिक समीक्षामा उक्त लक्ष्य घटाएर १२ खर्ब ६७ अर्बमा झारिएको थियो। अहिले वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा संकलित राजस्व १० खर्ब १५ अर्ब पुगेको छ, जुन संशोधित लक्ष्यको करिब ८० प्रतिशत मात्र हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म उठेको कुल राजस्वमध्ये ९ खर्ब १७ अर्ब कर राजस्व, ९८ अर्ब गैरकर राजस्व, ११ अर्ब अन्य आम्दानी र १७ अर्ब वैदेशिक अनुदानबाट आएको हो। यसरी हेर्दा असारमा करिब २५२ अर्ब उठ्नुपर्छ, जुन विगतको प्रवृत्ति अनुसार असम्भवजस्तै देखिन्छ।
राजस्व संकलनमा मुख्य स्रोत मानिने आयातमा गिरावट आउँदा भन्सारबाट राजस्व असुली घटेको छ। अर्थ मन्त्रालयका सहायक प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार आयातमुखी राजस्व प्रणाली भएकाले वस्तु आयात घटेपछि त्यसको असर बजेटमा स्पष्ट देखिएको छ। घरजग्गा कारोबार, सेयर कारोबार र सहकारी क्षेत्रमा देखिएको समस्याले पनि आन्तरिक राजस्व घटाएको हो।
खनालले पुराना बक्यौता उठ्न नसक्नु, पुँजीगत खर्च न्यून हुनु र निजी क्षेत्र कमजोर हुनुजस्ता पक्षले लक्ष्यअनुसार राजस्व संकलन गर्न कठिन भएको बताए। उनका अनुसार, पछिल्ला केही वर्षदेखि सरकारको राजस्व संकलन ७५–८० प्रतिशतमै सीमित हुँदै आएको छ।
यो वर्षको जेठ मसान्तसम्म १० खर्ब १५ अर्ब राजस्व उठ्दा अघिल्लो वर्षको सो अवधिको तुलनामा ९९ अर्ब बढी हो। तर, वृद्धिदर मात्र १०.८० प्रतिशत रहेको छ। औसत मासिक संकलन ९२ अर्ब हाराहारी देखिन्छ।
महालेखा नियन्त्रकको तथ्यांकअनुसार गत आवमा कुल १० खर्ब ३० अर्ब राजस्व उठेको थियो। यसपटक असारमा अधिकतम १ खर्ब ३५ अर्बसम्म उठे पनि कुल राजस्व ११ खर्ब ५० अर्ब हाराहारीमा सीमित हुने देखिन्छ।
राजस्वमात्र होइन, खर्चतर्फ पनि सरकारको कार्यक्षमता कमजोर देखिएको छ। जेठ मसान्तसम्म पुँजीगत खर्च कुल लक्ष्यको ४०.६९ प्रतिशत मात्रै भएको छ। सरकारको लक्ष्य ३ खर्ब ५२ अर्ब खर्च गर्ने भए पनि हालसम्म १ खर्ब ४३ अर्ब मात्र खर्च भएको छ। चालुतर्फ भने ११ खर्ब ४० अर्बमध्ये ८ खर्ब ५१ अर्ब (७४.६६%) खर्च भएको छ।
आन्तरिक अर्थतन्त्र गतिशील नहुनु, निजी उद्योग व्यवसायको सुस्तता, आयातमा गिरावट र पूँजीगत खर्चको न्यून कार्यान्वयनले गर्दा चालु आवको राजस्व लक्ष्य फेरि अधुरै रहने देखिएको छ। अर्थ मन्त्रालय संशोधित लक्ष्य पूरा हुने अपेक्षामा छ, तर हालको अवस्था हेर्दा त्यो यकिन भन्न सकिने अवस्था छैन।


