Banijya News

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ४० प्रतिशतमा सिमित

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८१/८२ मा पुँजीगत खर्च कार्यान्वयनको गति फेरि सुस्त देखिएको छ। सरकारको पुँजीगत खर्च अपेक्षाअनुसार नबढ्दा विकास निर्माणमा ढिलाइ भएको संकेत मिलेको छ।

सरकारले चालु वर्षका लागि कुल ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएको थियो। तर साउनदेखि जेठ मसान्तसम्म (११ महिना) मा मात्र १ खर्ब ४३ अर्ब रुपैयाँ, अर्थात् ४० प्रतिशत मात्र खर्च भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ प्रतिशत खर्च भएको थियो।

अझ उल्लेखनीय कुरा के छ भने, यस वर्षको खर्चमा गत वर्षको झण्डै २८ अर्ब रुपैयाँको बक्यौता भुक्तानी पनि समावेश गरिएको छ, तर त्यसबाहेकको शुद्ध खर्च दर अझै न्यून देखिन्छ।

विपरीत रूपमा, चालु खर्च भने ७५ प्रतिशत पुगेको छ। सरकारले यो वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्चको लागि छुट्याएको थियो, जसमा ८ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

सार्वजनिक ऋणको सावा भुक्तानी र सार्वजनिक संस्थानहरूको ऋण लगानीसम्बन्धी वित्तीय व्यवस्थापन खर्च ७८ प्रतिशत पुगेको छ। यस शीर्षकअन्तर्गत ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो, जसमध्ये २ खर्ब ८७ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

पुँजीगत खर्च विकासको मेरुदण्ड हो भनिए पनि विगतका वर्षझैँ यसपटक पनि समयमै र प्रभावकारी ढंगले खर्च हुन नसक्दा पूर्वाधार तथा विकास योजनाहरू प्रभावित हुने देखिएको छ।

1

Scroll to Top