चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ। सो कुल गार्हस्थ उत्पादन (जीडीपी) मध्ये बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ। बागमती प्रदेश सरकारले हालै सार्वजनिक गरेको वार्षिक आर्थिक सर्वेक्षणमा उक्त विवरण उल्लेख गरिएको हो।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत हुने अनुमान गरिएको छ। कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि ३.४८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक आँकलन गरिएको छ। अघिल्लो वर्ष सो क्षेत्रमा २.७० प्रतिशतको वृद्धि भएको थियो। चालु वर्षमा कृषि क्षेत्रले कुल जीडीपीमा ११.८० प्रतिशत योगदान पुर्याउने अनुमान छ, जुन अघिल्लो वर्षको ११.६७ प्रतिशतभन्दा अलि बढी हो।
खानी तथा उत्खनन् क्षेत्रमा भने वृद्धिदर घट्ने देखिएको छ। गत आर्थिक वर्षमा सो क्षेत्रमा ३.२३ प्रतिशतको वृद्धि भएको थियो भने चालु वर्षमा १.८९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यस क्षेत्रको कुल जीडीपीमा योगदान ०.६५ प्रतिशतबाट घटेर ०.६२ प्रतिशतमा झर्ने आँकलन गरिएको छ।
उत्पादनमूलक उद्योगतर्फ अघिल्लो वर्ष २.०९ प्रतिशतले ऋणात्मक वृद्धि देखिएकोमा यस वर्ष ३.८२ प्रतिशतले वृद्धि हुने विश्वास गरिएको छ। यद्यपि कुल जीडीपीमा योगदान भने अघिल्लो वर्षको ४.९३ प्रतिशतबाट घटेर ४.९१ प्रतिशतमा झर्ने देखिएको छ।
विद्युत, ग्यास तथा वाष्प र वातानुकूलन आपूर्तिमा उल्लेखनीय सुधार देखिएको छ। चालु वर्षमा यो क्षेत्रको मूल्य अभिवृद्धि १९.९५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
प्रदेश सरकारको खर्च विवरण पनि सार्वजनिक गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म कुल खर्च २५.६२ प्रतिशत पुगेको छ, जसमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत खर्च भएको उल्लेख छ। सो अवधिमा सरकारको आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ पुगेको छ।
सर्वेक्षणअनुसार बागमती प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ र वित्तीय पहुँचमा सुधार आएको छ। विद्युत पहुँच ९९.९७ प्रतिशत जनसंख्यामा पुगेको छ भने ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा उपलब्ध भएको छ। साक्षरता दर ८२.१ प्रतिशत रहेको प्रदेश सरकारको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, प्रदेशमा युवाहरूमा उद्यमशील सोचको विकास भइरहेको पनि सर्वेक्षणले देखाएको छ।


