कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षको अन्त्यसम्म ४.७४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहका अनुसार, गत आर्थिक वर्षमा यो दर ३.२६ प्रतिशत मात्र थियो। आर्थिक सर्वेक्षण २०८१/८२ ले प्रदेशको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताइएको छ।
चालु आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.६८ गुणाले वृद्धि भई २ खर्ब ५५ अर्ब ५९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७५/७६ मा यो १ खर्ब ५१ अर्ब ८९ करोड रुपैयाँ थियो। प्रतिव्यक्ति जीडीपी पनि अघिल्लो वर्षको १,०७६ अमेरिकी डलरबाट बढेर १,०८९ अमेरिकी डलर हुने अनुमान गरिएको छ।
प्रदेशमा मुद्रास्फीति राष्ट्रिय औसतभन्दा कम छ। चालु आर्थिक वर्षको पहिलो दश महिनामा राष्ट्रिय औसत मुद्रास्फीति ४.३९ प्रतिशत रहे पनि कर्णालीमा यो दर ३.५४ प्रतिशतमा सीमित रहेको छ।
यद्यपि, बजेट खर्चमा भने उल्लेखनीय सुधार हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म कुल बजेटको केवल ४०.५० प्रतिशत मात्र खर्च भएको देखिन्छ। चालु खर्च ५४.३६ प्रतिशत पुगेको भए पनि पुँजीगत खर्च जम्मा ३१.९१ प्रतिशतमा सीमित रहेको छ।
अर्थमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्, जुन चालु वर्षको तुलनामा केही बढी हो। तथापि, प्रदेश स्थापना भएको सात वर्षको औसत बजेट खर्च ५८.१७ प्रतिशत मात्र रहेको तथ्यले कार्यान्वयन क्षमता अझै कमजोर रहेको देखाउँछ।
सरकारले चालु वर्षको अन्त्यसम्म ७५ प्रतिशत बजेट अर्थात् २३ अर्ब २५ करोड रुपैयाँ खर्च हुने अपेक्षा गरेको छ। राजस्व संकलनतर्फ भने अवस्था केही सुधारिएको देखिन्छ। प्रदेश स्थापना यता लक्ष्यको ९१.३२ प्रतिशत अर्थात् २ अर्ब ९२ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षमा ८० करोड रुपैयाँ राजस्व संकलन लक्ष्यमा जेठ मसान्तसम्म ६२.५ प्रतिशत अर्थात् ५२ करोड १५ लाख संकलन भइसकेको छ।


