Banijya News

वर्ल्डलिंक कम्युनिकेसन्सको आम्दानी ११ अर्ब नाघ्यो

1
1.1K Shares

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा ७.७० प्रतिशतले वृद्धि हो। २०२३ मा कम्पनीको आम्दानी १० अर्ब ३३ करोड २० लाख र २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ रहेको थियो।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार, वर्ल्डलिंकले ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ कर्जाको लागि रेटिङ पुनःपुष्टि गराएको छ। जसमध्ये दीर्घकालीन (लङ टर्म) २ अर्ब १९ करोड ६० लाखका लागि ‘CARENP A’ र छोटो अवधि (सर्ट टर्म) का १ अर्ब ७५ करोडका लागि ‘CARENP A2+’ रेटिङ कायम गरिएको हो।

यो रेटिङ सर्वोच्च अदालतले २०८१ जेठ १ मा दिएको निर्णयपछिको टेलिकम लाइसेन्स नवीकरणसम्बन्धी नियममा आएको स्पष्टता एवं सुधारसँग जोडिएको बताइएको छ।

वर्ल्डलिंकले २०७८ मंसिर २८ मा सरकारी रोयल्टी तथा ग्रामीण टेलिकम विकास कोषसम्बन्धी सबै भुक्तानी गरिसकेको छ। कम्पनीले पछिल्ला वर्षमा ग्राहक संख्या र कारोबार दुबैमा उल्लेखनीय वृद्धि गर्दै आएको छ। हाल देशभर वर्ल्डलिंकका १० लाखभन्दा बढी सक्रिय ग्राहक रहेका छन्। कम्पनीको इन्टरनेट सेवा बजारमा ३२ प्रतिशत हिस्सा रहेको छ।

यद्यपि, प्रतिस्पर्धाका कारण ग्राहकबाट हुने औसत आम्दानी घट्दो क्रममा छ। २०२३ मा प्रति ग्राहक औसत आम्दानी ९८७ रुपैयाँ थियो भने २०२४ मा घटेर ८६१ रुपैयाँमा झरेको छ।

विदेशी लगानीतर्फ, वर्ल्डलिंकले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याइसकेको छ। त्यस्तै, २०८१ मंसिर १३ मा फिनफन्डसँग १ करोड युरो बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) सम्झौता भएको छ।

कम्पनीले हाल देशभर ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरिसकेको छ। कुल आम्दानीमध्ये ५० प्रतिशत इन्टरनेट सेवाबाट र बाँकी ५० प्रतिशत प्राविधिक सेवाबाट भएको बताइएको छ।

हाल वर्ल्डलिंकको फाइबर नेटवर्क मुख्यतया शहरी क्षेत्रमा केन्द्रित भए पनि अब ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको छ। यसका लागि कम्पनीले ऋण, सेयर निष्कासन र आन्तरिक आम्दानीमार्फत पूँजी जुटाउने योजना बनाएको छ।

1

Scroll to Top