बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग विस्तारसँगै आर्थिक कारोबारमा डिजिटल माध्यमको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) डिजिटल कारोबारका सबै माध्यममध्ये सबैभन्दा बढी प्रयोग मोबाइल बैंकिङमार्फत भएको छ।
सो अवधिमा मोबाइल बैंकिङ प्रयोग गरेर ५ करोड ७३ लाख ७१ हजार २१५ पटक कारोबार हुँदा ४५ अर्ब ६९ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ४ करोड ६ लाख २९ हजार २२१ पटकमा ३२ अर्ब १ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो।
त्यसको तुलना गर्दा यो वर्ष मोबाइल बैंकिङको प्रयोग १ करोड ६७ लाख ४१ हजार ९९४ पटकले वृद्धि भएको छ भने कारोबार रकममा १३ अर्ब ६७ करोड ६४ लाख रुपैयाँको वृद्धी भएको देखिन्छ।
मोबाइल बैंकिङपछि डिजिटल कारोबारमा सर्वाधिक प्रयोग हुने माध्यममा डिजिटल वालेट र डेबिट/क्रेडिट कार्ड रहेका छन्।
हालसम्म वालेटमार्फत ३ करोड ७६ लाख ६४ हजार ४२६ पटक प्रयोग भई ४ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ८४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो।
डेबिट/क्रेडिट कार्डमार्फत १ करोड २५ लाख ६० हजार ३६२ पटकमा १० अर्ब ३४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो संख्या १ करोड २५ लाख ४६ हजार ९४२ पटक थियो भने कारोबार ९ अर्ब ९० करोड २७ लाख रुपैयाँ थियो।
कनेक्ट आइपिएस प्रणालीमार्फत २५ लाख ४ हजार २ पटक कारोबार भई २४ अर्ब ४३ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो वर्ष ३४ लाख ४ हजार ७५६ पटक प्रयोग भई २३ अर्ब ८१ करोड १३ लाख रुपैयाँ कारोबार भएको थियो।
इन्टरनेट बैंकिङको प्रयोग पनि वृद्धि हुँदै गएको छ। चालु वर्षको १० महिनामा ४ लाख ५६ हजार ३५० पटक प्रयोग भई २ अर्ब ६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो वर्ष सो अवधिमा २ लाख ७८ हजार ४२१ पटक कारोबार भई १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ कारोबार भएको थियो।
जानकारहरूका अनुसार मोबाइल बैंकिङलगायतका डिजिटल माध्यम छिटो, सुरक्षित र सुविधाजनक भएकाले यसको प्रयोग तीव्र रूपमा बढेको हो। साथै, कोभिड-१९ महामारीपछिको समयदेखि डिजिटल कारोबारप्रतिको जनचासोमा उल्लेखनीय वृद्धि आएको हो।


