चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले पर्यटन सेवा क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १० वैशाखसम्म २० वटा वाणिज्य बैंकहरूले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका हुन्। अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। यस आधारमा पर्यटन क्षेत्रमा कर्जा १२ प्रतिशतले वृद्धि भएको देखिन्छ।
पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यस बैंकले २२ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१३ प्रतिशतले वृद्धि हो। दोस्रो स्थानमा रहेको प्रभु बैंकले २१ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जसमा २०.१० प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, ग्लोबल आइएमई बैंकले २० अर्ब ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.४६ प्रतिशतले बढेको हो।
प्राइम कमर्सियल बैंकले १९ अर्ब २७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १७ अर्ब ३३ करोड, कुमारी बैंकले १६ अर्ब ३५ करोड, हिमालयन बैंकले १२ अर्ब ३५ करोड, लक्ष्मी सनराइजले ११ अर्ब ७६ करोड र नबिल बैंकले ११ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यीमध्ये नबिल बैंक बाहेक सबैको कर्जा प्रवाहमा वृद्धि भएको छ। नबिलको कर्जा लगानी भने ३.९७ प्रतिशतले घटेको हो।
एनएमबि बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई, कृषि विकास, सानिमा, माछापुच्छ्रे, एभरेष्ट र सिटिजन्स बैंकले पनि क्रमशः ९ अर्बदेखि ४ अर्ब रुपैयाँसम्म पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। यी सबै बैंकको लगानी अघिल्लो वर्षको तुलनामा बढेको छ। तर, एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह भने घटेको देखिएको छ।


