आर्थिक वर्ष २०८१/८२ सकिन अब एक महिना बाँकी रहँदा २२ मन्त्रालयको औसत पुँजीगत खर्च ३१.९ प्रतिशतमा सीमित देखिएको छ। तीमध्ये १९ मन्त्रालयले आवधिक पुँजीगत बजेटको आधा पनि खर्च गर्न सकेका छैनन्। बाँकी तीन मन्त्रालयले पनि ५५ प्रतिशतभन्दा कम मात्रै खर्च गरेका छन्।
पुँजीगत खर्चमा सबैभन्दा अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ। मन्त्रालयले कुल एक खर्ब ४० अर्ब पुँजीगत बजेटमध्ये ७५ अर्ब ९२ करोड रुपैयाँ (५४.२५ प्रतिशत) खर्च गरेको छ। गृह मन्त्रालयले १० अर्ब ६९ करोड बजेटमा ५३.७२ प्रतिशत र ऊर्जा मन्त्रालयले ३४ अर्ब १० करोडमध्ये ५३.६२ प्रतिशत खर्च गरेका छन्।
यसबाहेक कृषि, भूमि व्यवस्था, परराष्ट्र, खानेपानी, रक्षा, सहरी विकास, स्वास्थ्य, पर्यटन, खेलकुद, महिला बालबालिका जस्ता मन्त्रालयहरूको खर्च २०–५० प्रतिशतको सीमामा रहेको छ।
तर अर्थ, सञ्चार, शिक्षा, उद्योग, श्रम, संघीय मामिला मन्त्रालयको पुँजीगत खर्च भने २० प्रतिशतभन्दा पनि कम छ। अर्थ मन्त्रालयले १३.९६ प्रतिशत, शिक्षा मन्त्रालयले १४.६५ प्रतिशत, उद्योगले १२.३२ प्रतिशत मात्रै खर्च गरेका छन्। संघीय मामिलाले ९.२५ प्रतिशत र श्रम मन्त्रालयले मात्र ७.४९ प्रतिशत खर्च गरेका छन्।
तलब–भत्ता जस्ता चालू खर्चतर्फ रक्षा मन्त्रालय अग्रपंक्तिमा देखिएको छ। ५३ अर्ब ९६ करोडमध्ये ९०.३२ प्रतिशत अर्थात् ४८ अर्ब ७४ करोड रुपैयाँ खर्च भइसकेको छ। त्यसपछिका मन्त्रालयहरूमा भौतिक, परराष्ट्र, शिक्षा र गृह मन्त्रालय छन्, जसले ८० प्रतिशतभन्दा बढी चालू खर्च गरेका छन्।
संवैधानिक निकायहरूमध्ये संघीय संसद, अदालत, राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, र मानव अधिकार आयोगले अधिकांश बजेट खर्च गरेका छन्। तर कर्मचारीतन्त्रको जवाफदेही अभाव, खरिद प्रक्रियामा जोखिम लिन नचाहने प्रवृत्ति, र राजस्व संकलन कमजोर हुनु खर्च कम हुनुका मुख्य कारणहरू हुन्।
अर्थशास्त्री प्रा.डा. पुष्कर बज्राचार्य भन्छन्, “पुँजीगत खर्च गर्न नसक्ने समस्या पुरानै हो। तर अहिले सरकारसँग खर्च गर्न पैसा छैन, योजनाहरूमा स्पष्टता छैन, र कार्यान्वयन तह कमजोर छ। कर्मचारीतन्त्रलाई जिम्मेवार बनाउन नसकिएको कमजोरी स्पष्ट देखिन्छ।”


