गण्डकी प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा राष्ट्रिय औसतभन्दा उच्च रहने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८१/८२ मा गण्डकीको आर्थिक वृद्धिदर ४.८८ प्रतिशत पुग्ने अनुमान छ, जुन राष्ट्रको औसत वृद्धिदर ३.९९ प्रतिशतभन्दा ०.८९ प्रतिशतले बढी हो।
उपभोक्ता मूल्यका आधारमा आर्थिक वृद्धि अझै बढी हुने अनुमान गरिएको छ। सर्वेक्षणअनुसार, यस वर्ष गण्डकीको कुल गार्हस्थ उत्पादन (GDP) ५ खर्ब ४८ अर्ब रुपैयाँ पुग्नेछ। अघिल्लो वर्ष यो ५ खर्ब १८ अर्बमा सीमित थियो।
गण्डकी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सर्वाधिक छ। पर्यटन, व्यापार, वित्तीय सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रले समग्र अर्थतन्त्रलाई धानेका छन्। कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५५.८ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको २७.५ र उद्योगको १६.५ प्रतिशत मात्रै योगदान रहेको अनुमान छ।
पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा उत्पादकत्व घट्दै गएको देखिन्छ। कुल सिँचाइयोग्य जमिनमध्ये केवल २५.३५ प्रतिशतमा मात्र आधुनिक सिँचाइ सुविधा पुगेको छ। गत वर्ष लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर जस्ता रोगका कारण पशुपालन कमजोर भएको मन्त्रालयको विश्लेषण छ। यस्तै, उद्योग क्षेत्रले अपेक्षित गति लिन नसक्दा आर्थिक आत्मनिर्भरतामा चुनौती देखिएको छ।
गण्डकी प्रदेशको प्रतिव्यक्ति आय पनि बढ्दै गएको छ। अघिल्लो वर्ष १ हजार ५७० अमेरिकी डलर रहेको आम्दानी यो वर्ष १ हजार ६२० डलर पुग्ने अनुमान गरिएको छ। विद्युत् उत्पादन र खपतमा समेत उल्लेख्य सुधार आएको छ। चालु वर्षको अन्त्यसम्ममा १ हजार १६.१९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ। विद्युत् पहुँच ९९.७ प्रतिशत जनसङ्ख्यामा पुगेको सरकारी तथ्यांकले देखाएको छ।
यद्यपि प्रदेशलाई “उज्यालो प्रदेश” घोषणा गरिएको सात वर्ष बितिसक्दा पनि यो लक्ष्य पूर्णरूपमा हासिल हुन सकेको छैन। आगामी वर्षका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले सबैभन्दा बढी प्राथमिकता खानेपानी र सडक पूर्वाधारमा दिएको छ। हालसम्म १४ हजार ७५४ घरमा निजी धारा जडान भइसकेको छ भने आगामी वर्ष थप १५ हजार घरमा धारा पुर्याउने लक्ष्यसहित ६० करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ। खानेपानी योजनामा मात्र १ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ।
गण्डकी प्रदेशको आर्थिक स्वरूप चलायमान देखिए पनि आर्थिक आत्मनिर्भरता भने कमजोर देखिएको छ। प्रदेशको कुल बजेटको करिब ९० प्रतिशत हिस्सा संघीय सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँटमा निर्भर रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार यसले वित्तीय स्वायत्ततामा असर पुर्याएको छ।
प्रदेश सरकारअन्तर्गत दर्ता भएका ६८ हजारभन्दा बढी उद्योगले १ लाख ३९ हजारभन्दा बढीलाई रोजगारी दिएको सरकारी विवरण छ। बैंकिङ पहुँचमा समेत उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा १ हजार ४०२ शाखा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। यस अवधिमा ५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भई ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
गण्डकीले आर्थिक वृद्धिमा राष्ट्रिय औसत उछिने पनि आत्मनिर्भर, समावेशी र सन्तुलित विकासका लागि कृषि तथा औद्योगिक क्षेत्रमा लगानी र नीतिगत सुधार आवश्यक देखिएको विज्ञको सुझाव छ।


