नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा निक्षेप रकम ७० खर्ब नाघेको छ। तथ्यांकअनुसार कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो दिनसम्म यो रकम ६९ खर्ब ९८ अर्ब रुपैयाँ थियो, जसअनुसार एकैदिन ३ अर्ब रुपैयाँको वृद्धि देखिएको छ।
वाणिज्य बैंकहरूतर्फ हेर्दा असार १ मा मात्रै निक्षेप ४ अर्ब रुपैयाँले बढेको देखिन्छ। अघिल्लो दिन ६२ खर्ब ५८ अर्ब रहेको निक्षेप असार १ मा बढेर ६२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। असार १ मा कुल कर्जा लगानी ५५ खर्ब ६४ अर्ब रुपैयाँबाट ५५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूको कर्जा लगानी पनि यही दिन ४ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो।
साथै, औसत अन्तरबैंक ब्याजदर हाल ३ प्रतिशत कायम छ भने बैंकहरूको औसत क्यास-डिपोजिट (सीडी) रेसियो ७८.४० प्रतिशत रहेको छ। यी सूचकहरू मुलुकको मौद्रिक प्रवाह र वित्तीय क्षेत्रको सक्रियतामा क्रमिक सुधार संकेत गर्छन्।
यो वृद्धिले अर्थतन्त्रमा तरलता विस्तार भएको देखाउँछ भने कर्जाको माग पनि केही बढेको अनुमान गर्न सकिन्छ।


