Banijya News

आगामी तीन वर्षमा औसत आर्थिक वृद्धि ७.१ प्रतिशत हुने

1
1.1K Shares

सरकारले आगामी तीन आर्थिक वर्षमा औसत ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशत, २०८३/८४ मा ७.६ प्रतिशत र २०८४/८५ मा ७.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा भने आर्थिक वृद्धि ३.९९ प्रतिशतमा सीमित रहने स्रोत समितिको अनुमान छ। अघिल्लो आर्थिक वर्षमा ३.३६ प्रतिशत मात्र वृद्धि भएको थियो। यद्यपि, राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्षको वृद्धि दर ४.६१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना अनुसार प्राथमिक क्षेत्रको वृद्धि आगामी तीन वर्षमा क्रमशः ३.७, ४ र ३.९ प्रतिशत रहनेछ। चालु वर्षमा यस क्षेत्रको विस्तार ३.२५ प्रतिशत मात्र हुने देखिएको छ। द्वितीय क्षेत्रको वृद्धि आगामी तीन वर्षमा क्रमशः ९.८, ११.७ र ११.५ प्रतिशत हुने अनुमान गरिएको छ भने चालु वर्षमा यो क्षेत्र ४.२५ प्रतिशतले मात्र बढ्नेछ।

सेवा क्षेत्र (तृतीय क्षेत्र) मा पनि क्रमिक वृद्धि हुने अपेक्षा गरिएको छ। यस क्षेत्रको वृद्धि दर २०८२/८३ मा ६.१, २०८३/८४ मा ८ र २०८४/८५ मा ८.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्षमा सेवा क्षेत्रको वृद्धि दर ४.२१ प्रतिशत रहेको छ।

स्रोत समितिका अनुसार देशको कुल अर्थतन्त्रको आकार आगामी वर्ष ६८ खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ। यो आकार २०८३/८४ मा ७७ खर्ब ८९ अर्ब र २०८४/८५ मा ८९ खर्ब ९ अर्ब रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षमा जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष यो ५७ खर्ब ४ अर्ब रुपैयाँ थियो।

प्रक्षेपण अनुसार आगामी तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आय औसत २,०८७ अमेरिकी डलरसम्म पुग्नेछ। कुल गार्हस्थ्य बचत ७.९ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ। उपभोक्ता मुद्रास्फिति औसत ५.८ प्रतिशत रहने अनुमान गरिएको छ।

योजना आयोगले मध्यमकालीन खर्च संरचना तयार गर्दा १६ औं योजनाले निर्धारण गरेको समष्टिगत लक्ष्य र प्राथमिक क्षेत्रगत उद्देश्यलाई आधार मानेको छ। हालको सुस्त आर्थिक अवस्था, आन्तरिक तथा बाह्य वित्तीय स्रोतहरूको अवस्था, कर संरचना, राजस्व अनुमान तथा शोधनान्तर स्थिति जस्ता सूचकहरूको विश्लेषणका आधारमा खर्च संरचना तयार पारिएको हो।

अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठका अनुसार हालको अवस्थालाई हेर्दा सरकारको अगामी तीन वर्षको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कठिनाइ हुने देखिन्छ। तथापि, अर्थतन्त्रले पुनः लय समातेको खण्डमा लक्ष्य नजिक पुग्ने सम्भावना रहेको उनको भनाइ छ।

पछिल्ला तथ्यांकअनुसार नेपालको जीडीपी पछिल्ला १५ वर्षमा चार गुणा वृद्धि भएको छ। आर्थिक वर्ष २०६७/६८ मा १५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको जीडीपी २०८१/८२ मा ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा उच्चतम वृद्धि २०७३/७४ मा ८.९८ प्रतिशत रहँदा न्यूनतम वृद्धि २०७६/७७ मा २.३७ प्रतिशत मात्र थियो।

यसै अवधिमा नेपालीको प्रतिव्यक्ति आम्दानी दोब्बर भई ८१८ अमेरिकी डलरबाट बढेर १,५१७ अमेरिकी डलर पुगेको छ। जीडीपीको संरचनामा पनि उल्लेखनीय परिवर्तन देखिएको छ। प्राथमिक क्षेत्रको हिस्सा एक तिहाइबाट घटेर करिब एक चौथाइमा झरेको छ, द्वितीय क्षेत्रको हिस्सा घटेर १२.४ प्रतिशतमा सीमित भएको छ, भने सेवा क्षेत्रको हिस्सा विस्तार भई ६२ प्रतिशत पुगेको छ।

अन्त्यमा, पछिल्लो समय आर्थिक वृद्धिमा विद्युत् तथा ग्यास, निर्माण, आवास, थोक तथा खुद्रा व्यापार, सार्वजनिक प्रशासन तथा रक्षाजस्ता क्षेत्रहरूको योगदान उल्लेख्य रहेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले संघ, प्रदेश तथा स्थानीय तहमा आगामी तीन वर्षभित्र उपलब्ध हुने स्रोत तथा खर्च गर्न सकिने सीमा निर्धारण गर्ने उद्देश्यले यो अनुमान सार्वजनिक गरेको हो।

1

Scroll to Top