Banijya News

पछिल्लो ११ महिनामा थपियो सवा २ खर्बभन्दा बढी सार्वजनिक ऋण

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा सरकारले २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार, यो अवधिमा आन्तरिक र वैदेशिक दुबै स्रोतबाट ऋण संकलन गरिएको हो।

योसँगै कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। गत साउन १ गतेसम्म यो रकम २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो। कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा हेर्दा नेपालको तिर्न बाँकी ऋण हाल ४३.४७ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋणको हिस्सा २२.३१ प्रतिशत र वैदेशिक ऋणको हिस्सा २४.२३ प्रतिशत रहेको छ। कुल ऋणको बनावटमा पनि सन्तुलन देखिएको छ — जेठ मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको बजेट अनुसार सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण संकलन गर्ने लक्ष्य राखेको थियो। जेठ मसान्तसम्ममा सो लक्ष्यको ७५.७२ प्रतिशत पूरा भइसकेको छ। ११ महिनामा ४ खर्ब १४ अर्ब १९ करोड ऋण संकलन भएको छ। यसमध्ये ३ खर्ब १४ अर्ब ९९ करोड आन्तरिक ऋण र ९९ अर्ब २० करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ।

आन्तरिक ऋण संकलनमा प्रगति दर ९५.४५ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण प्राप्तिमा भने अपेक्षाकृत कम, ४५.७२ प्रतिशत प्रगति भएको छ। यो बाह्य ऋण सम्झौतामा ढिलाइ र कार्यान्वयन कमजोरीतर्फ संकेत गर्छ।

यसैबीच, ऋण सेवा खर्च पनि उल्लेखनीय देखिएको छ। चालु आवका लागि ४ खर्ब २ अर्ब विनियोजित ऋण सेवा बजेटमध्ये ३ खर्ब २९ अर्ब ६० करोड खर्च भइसकेको छ, जुन ८१.८२ प्रतिशत हो। कुल ऋण सेवा खर्च नेपालको जीडीपीको ५.४ प्रतिशत बराबर रहेको छ।

जेठ मसान्तसम्म सरकारले २ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण र ५१ अर्ब ८७ करोड वैदेशिक ऋणको दायित्व घटाएको छ। कुल साँवा भुक्तानी २ खर्ब ६६ अर्ब ६५ करोड र ब्याज भुक्तानीमा ६२ अर्ब ९४ करोड खर्च गरिएको छ।

चालु आर्थिक वर्षको सुरुवातमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याइए पनि अर्धवार्षिक समीक्षाबाट सरकार त्यसको आकार करिब १० प्रतिशतले घटाइसकेको छ। यस्ता अवस्थाले वित्तीय अनुशासन र ऋण व्यवस्थापनमा सुधारको खाँचो औंल्याइरहेका छन्।

1

Scroll to Top